राजनीतिक परिवर्तनको लहरमा चर्चामा आएको नाम हो– रवि लामिछाने । उनले राजनीतिमा प्रवेश गरेसँगै छोटो समयमै ठुलो जनसमर्थन जुटाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक बनाउने यात्रामा महत्त्वपूर्ण भूमिका खेले ।

पुराना राजनीतिक दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारप्रति जनताको वितृष्णा र नयाँ नेतृत्वको खोजीबिच उनले आफूलाई ‘नैतिक राजनीति’ को प्रतिनिधिका रूपमा प्रस्तुत गरे । यसै कारण उनीप्रति अपेक्षा पनि असाधारण रूपमा बढेको छ । तर विडम्बना के छ भने अहिले उनी आफैँमाथिका विभिन्न आरोप र मुद्दाहरू बोकेर हिँडिरहेका छन् ।
यसले उनको राजनीतिक नैतिकता र रास्वपाको नेतृत्वप्रतिको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ । भलै पहिलेको सरकार उनीप्रति उदार थियो वा अनुदार त्यसको समीक्षा समयले गर्नेछ । तर यस्तो अवस्थामा यदि उनले वास्तवमै नैतिक राजनीतिलाई बढवा दिन चाहन्छन् भने पार्टी सभापतिबाट राजीनामा दिनु नै सबैभन्दा उचित र उदाहरणीय कदम हुनेछ ।
राजनीतिमा नैतिकताको कुरा गर्न सजिलो छ, तर व्यवहारमा लागू गर्न कठिन छ । नेपालका पुराना दलहरूले यही नैतिकताको परीक्षणमा पटक–पटक असफलता भोगेका छन् । जनताले देखेको राजनीति प्रायः सत्ता, स्वार्थ र शक्तिको खेल बनेको छ । यसै कारणले गर्दा जनताले नयाँ विकल्पको खोजी गरे । विकल्पका रूपमा रवि लामिछाने उदाए ।
उनले बारम्बार पुराना दलहरूले नैतिकता गुमाएको भन्दै आलोचना गरे, भ्रष्टाचार विरुद्ध कडा आवाज उठाए र आफूहरू फरक शैलीको राजनीति गर्ने दाबी गरे । तर दुःखद उनीमाथि नै सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको मुद्दा न्यायालयमा विचाराधीन छ । न्यायालयले न्यायको निरूपण नगरेसम्म उनी यसबाट मुक्त हुन सक्दैनन् ।
ठिक यति नै बेला नैतिकताको वास्तविक परीक्षा सुरु हुन्छ ।
अहिले रवि लामिछानेमाथि सहकारी ठगी, राहदानी दुरुपयोग र अन्य केही आर्थिक अनियमितता सम्बन्धी आरोपहरू सार्वजनिक बहसको विषय बनेका छन् । यी आरोपहरू अदालतबाट निरूपण भई सकेको अवस्था छैन । भलै रवि स्वयंले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोध भनिरहेका छन् । यो प्रतिशोध थियो वा थिएन यसको निराकरण गर्ने जिम्मेवारी अदालतको काँधमा छ ।
राजनीतिमा केवल कानुनी निरूपणले मात्र महत्त्व राख्दैन । राजनीतिक नेतृत्वको नैतिकताको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । कुनै नेता कानुनी रूपमा निर्दोष साबित हुन सक्दछन्, तर नैतिक दृष्टिले प्रश्नको घेरामा पर्न सक्छन् । नेपाली राजनीतिमा यसका कयौँ उदाहरण हामी देख्न सक्छौँ ।
विकसित लोकतन्त्रहरूमा आरोप लागेपछि नेता आफैँ पदबाट अलग हुने उदाहरण धेरै देखिन्छ । जुन अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा बेला–बेला चर्चाको विषय समेत बन्ने गरेको छ । नेपालको राजनीतिक संस्कृतिमा भने यस्तो अभ्यास निकै कमजोर छ ।
यहाँ प्रायः नेताहरू दोष प्रमाणित नभएसम्म पद नछाड्ने, बरु पदमा बसेरै आफ्नो शक्तिको प्रयोगमार्फत आरोपबाट मुक्त हुने यत्न गरेको देखिन्छ । यही संस्कृतिले नेपाली राजनीतिलाई निरन्तर बदनाम बनाएको छ । यदि नयाँ दल र नयाँ नेतृत्वले पनि यही परम्परा दोहो-यायो भने त्यसले परिवर्तनको दाबीलाई नै कमजोर बनाउनेछ ।
रवि लामिछानेले राजनीतिमा प्रवेश गर्दा दिएको सन्देश नै पुराना राजनीतिक दलहरू नैतिक रूपमा असक्षम छन् भन्ने थियो । उनले नयाँ पुस्ताले नयाँ संस्कार स्थापित गर्नुपर्छ भन्थे । उनले भ्रष्टाचार विरुद्ध कठोर आवाज उठाए, सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको आलोचना गरे र जनतालाई विश्वास दिलाए कि अब फरक शैलीको राजनीति सम्भव छ ।
यही विश्वासका कारण लाखौँ मतदाताले उनलाई समर्थन गरे । तर अहिले उनीमाथि लागेका आरोपहरूको निरूपण नहुँदासम्म उनी पार्टीको सर्वोच्च पदमा बसिरहे भने त्यो विश्वासमा दरार पर्ने जोखिम बढ्छ ।
यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्न सक्छ– पुराना दलका नेताहरूले पनि त विभिन्न आरोपहरूको सामना गरिरहेका छन्, उनीहरूले किन पद छोड्दैनन् ? त्यसो हुँदा लामिछानेले मात्रै किन राजीनामा दिने ?
यो प्रश्न सतहमा हेर्दा जायज लाग्न सक्छ, तर गहिराइमा यसको उत्तर स्पष्ट हुन्छ । यदि नयाँ दलले पनि पुराना दलकै अभ्यास दोहो-याउने हो भने नयाँ भन्ने आधार के ? पुराना भनिएका नेता र रविमा फरक के ? यदि कांग्रेस, एमाले, नेकपा वा अन्य पुराना दलहरूले नैतिकताको उदाहरण दिन सकेनन् भने त्यसैको नक्कल गरेर नयाँ दलले आफ्नो पहिचान बनाउन सक्दैन ।
नयाँ शक्ति बन्न चाहने दलले पुरानालाई पछ्याउने होइन, पुरानालाई चुनौती दिने हो । त्यसका लागि व्यवहारमा र नैतिकताको कसीमा प्रमाणित हुनुपर्छ ।
राजनीतिमा विश्वास सबैभन्दा ठुलो पुँजी हो । एक पटक त्यो विश्वास कमजोर भयो भने पुनः प्राप्त गर्न कठिन हुन्छ । अहिले रवि लामिछानेको सबैभन्दा ठुलो शक्ति जनताको भरोसा हो । यदि उनले नैतिकताको उदाहरण प्रस्तुत गर्दै स्वेच्छाले पदबाट अलग भएर अदालती वा अन्य अनुसन्धान प्रक्रियालाई स्वतन्त्र रूपमा अघि बढ्न दिए भने त्यो कदमले उनको छवि झन् उँचो बनाउने छ ।
यसलाई हारको रूपमा होइन, बरु दीर्घकालीन विजयको रणनीतिक कदमका रूपमा बुझ्न सकिन्छ । यदि उनी निर्दोष प्रमाणित भए भने पुनः राजनीतिमा फर्कन कुनै अवरोध हुँदैन । बरु त्यस्तो अवस्थामा उनी झनै शक्तिशाली नैतिक आधारसहित राजनीतिको नेतृत्व गरिरहेका हुनेछन् । तर आरोप लागिरहँदा पनि पदमा बसिरहे भने सन्देह झन् गहिरिँदै जाने सम्भावना हुन्छ ।
नेपालको इतिहासमा नैतिकताको आधारमा पद त्याग गर्ने उदाहरण अत्यन्तै कम छन् । धेरैजसो अवस्थामा नेता पदमा बसिरहन्छन् र आरोपहरू समयसँगै ओझेलमा पर्छन् । यही प्रवृत्तिले नै राजनीतिक प्रणालीप्रति जनताको विश्वास घटाउँदै लगेको हो । यदि अहिले रवि लामिछानेले फरक अभ्यास सुरु गरे भने त्यो केवल व्यक्तिगत निर्णय मात्र हुने छैन, त्यो नेपाली राजनीतिक संस्कृतिमा नयाँ अध्यायको सुरुवात हुनेछ ।
रवि लामिछानेको लोकप्रियता कुनै संयोग होइन । सञ्चार माध्यममा सक्रिय रहँदा उनले जनताका समस्याहरू उठाए, भ्रष्टाचारको आलोचना गरे र सामान्य नागरिकको आवाज बने । यसै कारणले गर्दा जनताले उनलाई परम्परागत राजनीतिभन्दा फरक व्यक्तित्वका रूपमा हेरे ।
तर राजनीतिमा प्रवेश गरेसँगै त्यो पनि झन्डै दुई तिहाइ नजिक पुगेको दलको नेतृत्व गर्दैगर्दा पुरानै प्रवृत्ति देखाए भने त्यो विश्वास कमजोर हुन समय लाग्ने छैन ।
राजनीतिक नेतृत्व भनेको केवल चुनाव जित्ने क्षमता मात्र होइन, नैतिक साहस पनि हो । कठिन परिस्थितिमा सही निर्णय लिन सक्ने क्षमता नै वास्तविक नेतृत्वको परिचायक हो । अहिले रवि लामिछाने त्यही निर्णायक मोडमा उभिएका छन् ।
उनीसँग दुई विकल्प छन्– पहिलो, आरोपहरूलाई बेवास्ता गर्दै पदमा बसिरहने । दोस्रो, नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट अलग भएर अनुसन्धानलाई सहज बनाउने ।
पहिलो विकल्प तत्कालीन रूपमा सहज देखिन सक्छ, तर दीर्घकालीन रूपमा जोखिमपूर्ण छ । दोस्रो विकल्प कठिन देखिन सक्छ, तर त्यसले राजनीतिक विश्वसनीयता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
नेपालमा धेरै नेताहरूले ‘नैतिकता’ शब्द प्रयोग गरेका छन्, तर व्यवहारमा त्यसको अर्थ प्रायः नारामा सीमित भएको छ । यदि अहिले रवि लामिछानेले व्यवहारमै नैतिकताको उदाहरण प्रस्तुत गरे भने त्यो नेपाली राजनीतिमा दुर्लभ घटना हुनेछ । प्रश्न व्यक्तिको होइन, राजनीतिक संस्कृतिको हो । नेपाललाई केवल नयाँ पार्टी होइन, नयाँ राजनीतिक संस्कार पनि चाहिएको छ ।
त्यसैले अहिलेको सन्दर्भमा सबैभन्दा सम्मानजनक र दूरदर्शी निर्णय भनेकै रवि लामिछानेले पार्टी सभापतिबाट राजीनामा दिनुपर्छ र अदालती प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्छ । दुई तिहाइ नजिकको दलको सभापतिमा रही रहेर, आफ्नै दलले नेतृत्व गर्ने सरकारको सर्वोच्च शिखरमा बसी शक्ति र सत्ताको तरबार लिएर न्यायालयको आँगनमा बसी निष्पक्ष न्याय निरूपण गर भनेर मात्र पुग्दैन ।
त्यसैले उनले आफ्नो नैतिक राजनीतिक संस्कारको प्रदर्शन गर्दै आफ्नो सभापतिको पदबाट राजीनामा दिई न्यायालयलाई आफ्नो काम गर्न दिनुपर्छ । किनभने राजनीतिमा वास्तविक परिवर्तन भाषणबाट होइन, व्यवहारबाट सुरु हुन्छ । रवि लामिछानेले त्यो व्यवहार देखाउने समय आएको छ ।
साभार रातोपाटी




