• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गाउँ–गाउँमा क्यामेरा पुग्दाको त्यो त्रास

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत / सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले श्रीमानसँगको विवादपछि भेरी नदीमा हाम फालेको घटनाले सामाजिक सञ्जाल एकाएक तातिएको थियो । त्यो खबर देख्नासाथ मेरो मनमा एउटा कुरा आयो– ‘घटनास्थलमै पुगेर वास्तविकता बुझ्नु पर्छ ।’ मायाको खबरले मलाई तत्कालै कर्णालीमा चार सन्तानसहित हाम फालेकी सुकी बडुवाललको दर्दनाक घटना पनि सम्झायो । मनमा दुईवटा आवाज चलिरहेको थियो– एकातिर यो घटना पनि ‘उस्तै नहोस् भन्ने र अर्कोतिर यदि ‘यो घटना पनि सुकीकै जस्तो रहेछ भने कसरी रिपोर्टिङमा जाने ?’ त्यसैबीच, वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछिको हत्या प्रकरणले दैनिक आन्दोलन र समाचार अपडेटको चाप उस्तै बढेको थियो ।

    अफिसमा हुने दैनिक मिटिङमा ‘इनिसाको नयाँ अपडेट के छ, थप रिपोर्ट के आयो ? मायाको घटनाले सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिएको थियो । कसैले आत्महत्या भने, कसैले हत्या नै हो भनेर ठोकुवा गरे, कसैले श्रीमानले हत्या गरेर भेरीमा फालेको भने तर सत्य खोज्ने भन्दा पनि युट्युब ‘भ्यूज’ बढाउने होड देखिन्थ्यो । घटनाबारे स–साना भिडियो क्लिप बनाउँदै सामाजिक सञ्जालमा सनसनी फैलाइरहेका थिए । भिडियोका तल कमेन्टहरू अधिकांश महिलालाई गाली गरेका मात्र देखिन्थे ।

    पछिल्लो समय सहरमात्रै हैन, समाचार अपडेटका लागि गाउँगाउँमा पनि क्यामेरा पुगेका छन् । यस्तोमा ठूला मिडियाको नाम प्रयोग गर्ने, आफ्नो परिचय लुकाउने क्रियाकलाप पनि उत्तिकै बढेको देखियो । पछिल्लो दुई सातामा घटेका दुईवटा घटनाले मेरो मनमा प्रश्न उठ्यो– हामीले दिने सूचनाले समाजलाई कता लैजाँदैछ ?

    शुक्रबार घरबाट निस्किएकी माया कठायतको आइतबार मात्रै भेरी नदीमा उनले प्रयोग गर्ने झोला र मोबाइल भेटिएपछि मायाले भेरीमै हाम फालेको घटना पुष्टि भयो । घटनाको यथार्थभन्दा टाढा गएर आफ्नै अनुमान र उत्तेजना मिसाएर बनाइएका भिडियोले मलाई धेरै असहज बनायो । यस्ता सामग्रीले घटनाको कस्तो रूप दिन्छ र पीडित परिवारमा कस्तो असर पर्छ– यी प्रश्नले मेरो मन भित्रैदेखि झस्कायो । त्यसपछि मैले आफैं घटनास्थल पुग्ने निर्णय गरेँ ।

    सोमबार बेलुका इलाका प्रहरी कार्यालय छिन्छुका प्रमुख प्रकाश केसीले ‘मायाको शव भेरी किनारमा भेटियो’ भन्ने खबर दिए । मैले उक्त समाचार बनाएर पठाएँ । त्यसपछि मैले भेरीमा आफैं जाने योजना बनाएँ । मंगलबार बिहानै नेपालन्युजका साथी दीपकजंग शाहीले ‘म्याडम हामी आफैं त्यो घटनास्थलमा पुग्ने कि’ भने ? सुकी बडुवालको घटनामा सोही स्थानमा पुगेर समाचार संकनल गरेकाले मलाई घटनास्थल जान मन पनि लाग्यो ।

    शाहीलाई मैले भेरीमा जाने सहमति जनाएँ । त्यसैबेला अघिल्लो दिन डा. नवराज केसीसँग भेट्ने कुरा सम्झिएँ । बिहानै उहाँको ह्वाटसएपमा रिमान्डर म्यासेज आयो र मैले कफी खाने आग्रह गरेँ र सरले हुन्छ भन्नु भयो । क्याफेमा डा. केसी, शाही र म कफी खाँदै थियौं । त्यही बेला अनलाइनखबरका यज्ञ खत्री र नागरिककर्मी दाजु नगेन्द्र उपाध्याय पनि आइपुग्नु भो । डाक्टरलाई भेट्नुपर्ने मुख्य कारण दोस्रो छोरी सम्मेलन कसरी गर्ने भन्नेबारे छलफल गर्न थियो तर मायाको घटनाले सबैको ध्यान तानेपछि हाम्रो कुरा त्यतै मोडियो ।

    अन्ततः हामी चार जना घटनास्थल जाने निर्णयमा पुग्यौं । हरि दाजुसँग गाडी मगाएर हामी चार जना भेरीतर्फ लाग्यौं । गाडी ड्राइभ मैले नै गरेँ । बाटोभरि हामी सुकी, इनिसा र निकुञ्जभित्र हराएका भनिएका पाँच जनाको घटनाबारे कुरा गर्दै, अपडेट कसरी दिने भन्ने योजना बनाउँदै अघि बढ्यौं ।

    सायद दुई घण्टापछि हामी मेहेलकुना प्रहरी चौकी पुग्यौं । चौकीमा हामीलाई कुरेका इलाका प्रहरी कार्यालय छिन्छुका प्रमुख प्रकाश केसीले घटनाबारे सरसरर्ती बताएपछि थप घटनाबारे भेरीतिरमा जानुपर्ने कुरा भयो । हामी त्यहाँबाट सशस्त्र प्रहरीको सहयोगमा र्‍याफिङ बोटमार्फत नदी पार गर्‍यौं । नदी पार गर्दा दुईवटा दृश्य एकैसाथ देखिए– एकातिर १०३ वर्षीया आमाको दाहसंस्कार गर्ने तयारी हुँदै थियो भने अर्कोतिर मायाको शव खोज्दै आफन्त र सुरक्षाकर्मीको भीड । त्यो दिन भेरी नदीमा सन्नाटा छाएको थियो । आफन्तहरू नदी तिरमा बसेर कसरी हाम फाली होली भन्दै नदीमा बगेको पानीलाई हेर्दै कुरा गरेर बसेका थिए ।

    हामी उनीहरूको स्थानमा पुग्नसाथ मेरो आँखा ठूल्ठूला क्यामेरा र माइक तेर्साउँदै पीडित परिवारलाई जबरजस्त प्रश्न सोधिरहेका मानिसहरूतिर परे । पीडित र पीडक परिवार भने घटनाबारे खुल्न चाहेजस्ता देखिँदैनथे । ‘किन घटना लुकाउन खोज्नु भएको त हैन ? हैन भने भएको घटनाबारे बोल्नूस् ? पीडक परिवारलाई प्रश्न थियो भने, पीडित परिवारलाई तपाईंकी छोरी घर छाडेर आफैं आत्महत्या गरेकी हुन् रे, त्यही छ बजारमा हल्ला, के हो ?’ भन्दै प्रश्न गरिरहेका थिए । यो दृश्यले मन असहज बनायो ।

    हामी चार जनाले पनि प्रहरीको सहयोगमा मायाका श्रीमान् भूपेन्द्रसँग कुरा गर्ने प्रयास गर्‍यौं र उनी तयार पनि भए । भूपेन्द्रले शुक्रबार र शनिबार घरदेखि मायाको काकाको घरसम्म भएको कुरा भन्दै थिए, उनका आफन्त आएर भने, ‘यस्ता पत्रकारसँग हामी बोल्नु छैन भन्दै हिँडे ।’ घटना एकातिर छ, सामाजिक सञ्जालमा के भिडियो पोस्ट गरेको भन्दै गाली गर्न थाले । हामीले ‘हामी पत्रिकामा काम गर्ने हो । आजै आएको घटनाको सत्यतथ्य बुझ्न वीरेन्द्रनगरबाट आएको’ भन्यौ । तर उनीहरू मान्न तयार भएनन् । त्यो भीडबाट एक जना युवतीले भनिन्, ‘पत्रकारहरूले सोधेको प्रश्नले झन् पीडा दिएको छ, हामीले आफ्नो मान्छे गुमाएका छौं । हामीले नै मारेको जस्तो गरेर प्रश्न गर्छन् । पत्रकार पनि कति थरीका हुन् !’

    त्यो वाक्यले मलाई झन् झस्कायो । पीडक पक्ष कराएको सुनेर क्यामरा बोकेर छेउमा उभिएका र आफूलाई ठूला मिडियामा काम गर्ने बताउँदै भिडियो बनाउने केटाहरूको टिम भाग्यो । उनीहरू गएपछि मात्र थाहा भयो– उनीहरूले ठूला मिडियाको नाम प्रयोग गरेर इन्टरभ्यु लिएका रहेछन् । भूपेन्द्रसँग राम्ररी कुरा गर्न नपाएपछि हामीले त्यहींबाट मायाका दाजु प्रेमराज गिरीसँग फोनमा कुरा गर्‍यौं र उनलाई भेट्न भेरीपारि लाग्यौं ।

    प्रहरी चौकीपछाडि भेरी नदी हेर्दै टोलाएर बसेका दाजु प्रेमसँग भेट भयो । हामी कान्तिपुर, नागरिक, नेपालन्युज र अन्य मिडियाको नाम लिँदै परिचय दिँदै घटनाबारे सोध्यौं । उनले गहभरि आँशु पार्दै सबै कुरा खोले । मेरो त बहिनीसँग कुरा नभएको धेरै भयो, मभन्दा घटनाका बारेमा मेरा काका अमरदेव गिरीलाई भेट्नुहोस् भनेर सम्पर्क नम्बर दिए । घटनाका बारेमा राम्रोसँग भनिदिन काकालाई फोनमा आग्रह गरे ।

    मायाको घटनाको अपडेट लिएर हामी उनका काकाको घरतर्फ लाग्यौं । काकाले सुरुमा घर आउने बाटो सबै बताए तर घरनजिक पुग्दा ‘म बोल्न सक्दिनँ’ भन्दै फोन काटे । हामीले पुनः फोन गर्‍यौं । नगेन्द्र दाजुले त्यहाँका एक प्रहरीको सहयोग लिनु भयो र हामी काका अमरराज गिरीको घरमा पुग्यौं । अमरले सोधे हजुरहरू कुन–कुन पत्रकार हो ? मैले भनेँ– ‘म कान्तिपुरमा काम गर्छु…’ यत्तिकैमा, अमरले ‘कान्तिपुरसँग बिहानै भिडियो अन्तर्वार्ता’ दिइसकेको बताए । ‘एउटै पत्रिकालाई कति पटक दिने ? घटनाका बारेमा राम्रोसँग छानबिन भएको छैन । घटना के हो थाहा छैन, हुँदै नभएका कुरा भिडियोमा हालेको छ, यस्तो पनि न्याय हुन्छ…’ भन्दै हामीप्रति बेस्मारी रिसाए । उनलाई सायद हामीले पहिलोपटक देखेको होला, सम्भवतः उनले पनि पहिलो पटक हामीलाई देखेका होलान् । तर, हाम्रो नाममा अरुले नै घटनाका बारेमा अडियो/भिडियो गरेर फर्किसकेछन् । अमरराजले थाकेको स्वरमा भने, ‘बिहानदेखि १२–१५ जना क्यामरा लिएर आए, जे पायो त्यही सोधे । घटना के हो भन्ने थाहा छैन, तर भिडियोमा उल्टासुल्टा प्रश्न गरे । अहिले सामाजिक सञ्जालमा गलत भिडियो पोस्ट गरेछन् ।’

    छोरी गुमाएको पीडा एकातिर छ, अर्कोतिर सामाजिक सञ्जालमा आएका भिडियो र समाचारले पीडितलाई नै उत्तिकै पीडा दिइरहेका छन् । स्वरमा पीडाभन्दा पनि बढी थकान र हामीप्रति अविश्वास झल्किन्थ्यो । मैले काकालाई देख्नसाथ ‘हामीले सूचना दिने नाममा कतै मानिसहरूलाई झनै त्रसित त बनाएका छैनौं ?’ भन्ने पनि लाग्यो । घटनास्थलमा पुगेर फर्कंदा समाचार मात्र लिएर आएनौं, एउटा प्रश्न पनि लिएर आयौं– पत्रकारिताका नाममा समाज कति त्रसित छ ? क्यामरा तेर्साउँदै ‘घटनाबारे बोल्नुहोस्– सुर्खेत, काठमाडौंका ठूला मिडियामा आउँछ’ भन्दै समाजमा घटेका घटनाको मर्म नबुझेर भिडियो बनाउनाले त्यसले कति असर पार्दो रहेछ ? छर्लंग नै छ । मायाको घटनाबाट मात्र होइन, २३ फागुनमा सुर्खेतको जंगलमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको घटनामा युट्युबरले तोडमोड र छोरीको चरित्रमाथि नचाहिने प्रश्न गरेको भन्दै उनका परिवारले सम्पूर्ण मिडिया बहिष्कार गरेका घटनाबाट पनि पुष्टि हुन्छ ।

    छोरीको घटना थाहा पाउनासाथ नेपाल फर्केका इनिसाका बुवालाई छोरीको चरित्रमाथि जथाभावी प्रश्न उठाएर भिडियो बनाएको भन्दै उनको परिवारले आपत्ति जनाएका थिए । छोरीको घटना अनुसन्धानमा छ, उनका बुवा इन्द्रले भने, ‘मृत्यु भएकी छोरीका बारेमा आफूले सुन्नै नसक्ने प्रश्न युट्युबर गरे । सामाजिक संजाल हेरिनसक्ने गरी भिडियो आउँछ, यस्तो पनि न्याय हुन्छ र ? पत्रकारको कुनै मापदण्ड छैन ? घटनाको अनुसन्धान नहुन्जेल हामी मिडियामा आउन चाहन्नौं ।’

    माया कठायतको घटनामात्र होइन, २३ फागुनमा सुर्खेतको जंगलमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको घटनामा पनि सामाजिक सञ्जाल र युट्युबमा आएका सामग्रीप्रति परिवार आक्रोशित छ । घटनालाई तोडमोड गर्दै प्रस्तुत गरिएको र मृतक बालिकाको चरित्रमाथि अनावश्यक तथा असंवेदनशील प्रश्न उठाएको भन्दै इनिसाको परिवारले सम्पूर्ण मिडियासँग असन्तुष्टि जनाएका थिए । छोरीको घटना थाहा पाउनासाथ विदेशबाट नेपाल फर्केका इनिसाका बुवाले केही युट्युबरले बनाएको भिडियोप्रति आपत्ति जनाएका थिए ।

    ‘मृत्यु भइसकेकी छोरीका बारेमा हामीले सुन्न नै नसक्ने खालका प्रश्न उठाएर भिडियो बनाएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल हेर्नै नसक्ने अवस्था बन्यो, यस्तो पनि न्याय हुन्छ र पीडितलाई ?’ घटनाको सत्यतथ्य बाहिर नआउँदै विभिन्न अड्कलबाजी र चरित्रहत्या गर्ने किसिमका सामग्री बनाइँदा परिवार थप पीडित बनेको उनले सुनाए । ‘पत्रकारिताको कुनै मापदण्ड नै रहेनजस्तो भयो,’ उनले भने, ‘घटनाको अनुसन्धान पूरा नहुन्जेल हामी मिडियामा आउन चाहँदैनौं ।’

    यी दुई घटनाले मेरो मनमा फेसबुक मोनिटाइज भएपछि रिलमा जथाभावी भिडियो पोस्ट गर्ने र युट्युबमा भ्युज बटुल्ने नाममा जस्ता पनि भिडियो राख्नाले पत्रकारहरूले गरेका राम्रो काम पनि ओझेलमा परेको अनुभूत भयो । क्यामेरा बोक्ने, भिडियो बनाउने सबै पत्रकार हुन् भन्ने बुझाइले मूलधारका मिडियामा काम गर्ने पत्रकारको काममा पनि प्रश्न उठ्न थालेको छ, जुन ज्यादै गम्भीर र चिन्ताको विषय हो ।

     

     

     

    साभार कान्तिपुर

    Post Views: 101
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १२:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.