बर्दियाको राजापुर नगरपालिका–५, पहाडीपुरस्थित चिनी मिलबाट निस्किएको फोहोर पदार्थको उचित व्यवस्थापन नहुँदा मिल वरिपरिको क्षेत्र दुर्गन्धित बन्नुका साथै वातावरण प्रदूषण भएको छ। बस्तीको बिचमा सञ्चालनमा रहेको राजापुर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको मिलबाट निस्किएको फोहोर पदार्थको उचित व्यवस्थापन नहुँदा मिलवरिपरिको क्षेत्र दुर्गन्धित बन्नुको साथै वातावरण प्रदूषण भएको हो ।

उद्योगबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा आसपासको वातावरण प्रदूषित हुनुका साथै स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै पटक–पटक स्थानीयले वडा कार्यालयमा गुनासो गर्दै आएका थिए। स्थानीयको गुनासो आएपछि वडा कार्यालयले उद्योगलाई फोहोर व्यवस्थापन गर्न पत्राचार गरेको छ।
वडा नं. ५ का अध्यक्ष रमेश दहितका अनुसार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र वातावरण संरक्षण ऐन, २०७७ अनुसार उद्योगबाट उत्पन्न फोहोरको व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सम्बन्धित उद्योगकै हुन्छ। ‘उद्योगलाई तत्काल फोहोर व्यवस्थापनका लागि ठोस कदम चाल्न निर्देशन दिइएको छ,’ उनले भने, ‘यदि अविलम्ब पहल नभए प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कानुनी कारबाही अघि बढाइनेछ।’
उद्योगका प्रबन्धक श्रीकृष्ण महतोले भने फोहोर व्यवस्थापनका विषयमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग छलफल भइरहेको जानकारी दिए। ‘स्थानीयको चाहनाअनुसार फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको छ,’ उनले बताए।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ भने वातावरणीय प्रदूषणबाट पीडितलाई क्षतिपूर्ति पाउने अधिकार पनि कानुनले व्यवस्था गरेको छ। यसलाई कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ लागू छन्। चिनी उद्योगबाट निस्किएको फोहोरका कारण करिब चार सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्।
साभार मायादेविअलइन




