बर्दिया प्रहरीले निकरानी बढाएसँगै लागुऔषध ओसारपसारमा संलग्न धमाधम पक्राउ पर्न थालेका छन् । बढैयाताल गाँउपालिकाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको अवस्थामा बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका २३ वर्षीय सरोजकुमार थारु र २३ वर्षीय रुपेश थारुलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दिया का प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए । उनीहरुले लुकाइछिपाई ल्याएको २ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगरे (गिलो पदार्थ) फेला परेको डमरपालले बताए ।
यस्तै बढैयाताल–८ सिमापुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका मधुवन नगरपालिका–९ का २५ वर्षीय आशिक तामाङलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर (गिलो पदार्थ) फेला परेको प्रहरी नायब उपरीक्षक डमरपालले जनाए ।
तीनै जनालाई बिहीबार अदालत बाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




