बढैयाताल गाउँपालिकामा “जिवनका लागि योग, स्वास्थ्यका लागि योग” भन्ने नारासहित पतञ्जली योग समितिको आयोजनामा योग साधना तथा तिज मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

गाउँपालिका वडा नं. ५ स्थित बढैयाताल क्षेत्रमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विभिन्न अतिथि, योग गुरु तथा योग साधक–साधिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा योग अभ्याससँगै तिज पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।
पतञ्जली योग समिति अध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा २०८० सालदेखि सुरु भएको योग साधना कार्यक्रम अहिले गाउँपालिकाभित्र पाँचवटा योग केन्द्रमार्फत नियमित सञ्चालन भइरहेको जानकारी दिइयो । सुरुवाती चरणमा १५ जनाबाट प्रारम्भ भएको कार्यक्रम अहिले दैनिक करिब ३०० जनाले योग साधना गरिरहेको उल्लेख गरिएको थियो ।
नियमित योग अभ्यास गर्ने साधक लल्लुराम थारू, रमेश लम्साल, भगवती लामिछाने, गोविन्द ढुङ्गाना, टंकप्रसाद भट्टराई र कृष्ण पौडेललगायतले योगले आफूहरूलाई शारीरिक र मानसिक रूपमा लाभ पुगेको बताउँदै सबैलाई नियमित योग ध्यानमा सहभागी हुन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले योग अभ्यासकै कारण धेरै रोगहरू निको भएको अनुभव साझा गर्दै आफैं पनि नियमित रूपमा योगमा सहभागी हुने गरेको बताए । उनले “योग जीवनको स्वास्थ्य र सशक्त समाज निर्माणको आधार” भन्दै सबैलाई यसमा संलग्न हुन आह्वान गरे ।
कार्यक्रममा गाउँपालिकाभित्र योग शिविर सञ्चालनमा योगदान पु¥याउने ६ व्यक्तिलाई सम्मान गरिएको थियो । साथै तिज पर्वको अवसरमा दर खाने, गीतसंगीतमा रमाउने र नाचगान गर्ने कार्यक्रम समेत सम्पन्न भएको थियो ।




