लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको बर्दिया प्रहरीले एकैदिन चार जना युवालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

बर्दिया प्रहरीका अनुसार भदौ २ गते (सोमबार) बेलुकी जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले भारत तर्फबाट नेपाल आउदै गरेका चारजनालाइ लागुऔषध सहित पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–८ सिमानगर नजिक प्रहरीले गुलरिया नगरपालिका–७ बस्ने २४ वर्षीय निरञ्जन यादव र २७ वर्षीय पवन कुमार यादवलाई शंका लागी चेकजाँच गर्दा ९० मिलिग्राम सहित तौलको ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।
सोमबार बेलुकी सिमापारी भारतको साघुनघारीबाट नेपालतर्फ आउँदै गरेका गुलरिया नगरपालिका–११ बस्ने २५ वर्षीय रुपेश खटीकलाई १५० मिलिग्रामसहित तौलको ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित रुपेशलाई नियन्त्रणमा लिएको समेत डमरपालले बताए।
साथै गुलरिया नगरपालिका–९ डब्बा गाउँमा चेकजाँचका क्रममा गुलरिया नगरपालिका–१० प्रयागपुर बस्ने ४३ वर्षीय सुरेश लोधलाई पक्राउ गरिएको र लोधको साथबाट प्लास्टिक सहित ७ सय २० मिलिग्राम र सुद्ध २ सय मिलिग्राम तौलको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियाबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखर र जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालका अनुसार जिल्लामा पछिल्लो समय युवाहरु लागुऔषध ओसारपसारमा संलग्न देखिएकाले प्रहरीले निगरानी बढाएको छ।




