आइतबार दुई जना र सोमबार दुई गरि चार जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दिया प्रहरीले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा बर्दिया प्रहरीको टोलिले भाद्र १ गते दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो भने भाद्र २ गते समेत लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
भाद्र २ गते सोमबार गुलरिया– ७ बाइपास रोडबाट अजमेर अलि र वडा नम्बर–६ स्थितबाट नुर महम्मद नाउलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको र थप चेकजाच गर्दा अजमेरको साथबाट १ सय ८० मिलिग्राम र नुर महम्मद नाउको साथबाट २ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दिया का प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

साथै गुलरिया–११ गणेशपुरबाट ठाकुरबाबा–४ का २१ वर्षीय अविशेष चौधरी ठाकुरबाबा–१ का २१ वर्षीय विशाल खत्रीलाई आइतबार पक्राउ गरिएको र पक्राउ परेकाको साथबाट ४ सय ७० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको समेत प्रहरी नायव उपरीक्षक डमरपालले बताए ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नाउव उपरीक्षक डमरपालले जानकारी दिए ।




