युवा तथा किशोर-किशोरीहरु नेतृत्व दायी भुमिकामा अझै सक्रिय हुनु पर्ने गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतमले बताइन। सशक्त बालिका परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब द्वारा भाद्र २ गते बर्दियाको गुलरियामा आयोजित नागरिक समाज संस्थाको तर्फबाट गुलरिया नगरपालिकामा युवाका सवाल विषयक अन्तरक्रिया तथा बार्षिक कार्ययोजना निर्माण कार्यक्रममा सो कुरा नगर उपप्रमुख गौतमले भनिन् ।


बालविवाह मुक्त वडा घोषणा भए पनि कतिपय स्थानमा अझै छुटपुट घटना हुने गरेको उल्लेख गर्दै किशोर-किशोरीलाई सचेत गराउन सबैलाई आह्वान गर्नुपर्नेछ उनले बताइन ।
संस्थागत सहयोग महत्त्वपूर्ण भए पनि युवा तथा किशोरी क्लबहरूले ठोस उपलब्धी हासिल गर्न नसकेको भन्दै अझ सक्रिय र परिणाममुखी ढंगले युवाहरूले काम गर्नुपर्ने समेत गुलरिया नगर उपप्रमुख गौतमले भनिन् ।

कार्यक्रमको उद्देश्य समाजमा रहेका नकारात्मक अभ्यास हटाउँदै सभ्य र स्वस्थ समाज निर्माण गर्ने, किशोर–किशोरी तथा युवाको सशक्तिकरण मार्फत उनीहरूको सहभागिता अभिवृद्धि गर्ने, साथै स्थानीय तहमा युवा मुखी नीति तथा कार्यक्रम तर्जुमा गर्ने रहेको बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले बताए। साथै समुदायका सवाल पहिचान गरी सामूहिक समाधान खोज्ने र मानव अधिकार, नागरिक अधिकार तथा राजनीतिक अधिकार बारे सचेतना जगाउने दीर्घकालीन लक्ष्य पनि कार्यक्रमले समेटिएको समेत लामिछानेले जानकारी दिए।

नागरिक समाज संस्थाले युवा र स्थानीय जनप्रतिनिधि सहभागीता गराइ यस किसिमका अन्तरक्रिया कार्यक्रमहरूले युवामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व बोध र स्थानीय तहमा उनीहरूको योगदान अभिवृद्धि गर्ने साथै बाल अधिकार, महिला अधिकार र समानताको पक्षमा समाजलाई सशक्त बनाउन मद्दत गर्ने नागरिक समाज संजालका अध्यक्ष रत्न सुनारले जानकारी दिए।

कार्यक्रममा नगरका विभिन्न वडाका किशोर–किशोरी, युवा, संचारकर्मी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको र गुलरिया नगरपालिकाका वडा नं. १, २, ५, ६, ११ र १२ का प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागीहरूले अनुभव आदान–प्रदान गर्दै विगतमा भएका क्रियाकलाप, उपलब्धी, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए।




