भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परि २६ जना नेपाली बेपत्ता भएका छन्, जसमा बर्दियाका पाँच जना समेत रहेका छन् । उत्तरकाशी जिल्लाको धरानी बजार र पौडिगडवाल जिल्ला को वाकुडा गाउँमा साउन २० र २१ गते आएको आकस्मिक बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो ।

घटनाको बारेमा जानकारी गराउदै बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननिय सञ्जय कुमार गौतमले मंगलबार प्रतिनिधी सभामा बोल्दै घटनामा परेका पीडित परिवार– जन प्रति समवेदना व्यक्त गरेका थिए । “हालसम्म पनि बेपत्ता मधुवन नगरपालिका–६ का २९ वर्षीय नरेन्द्र खड्का, उनकी पत्नी ३५ वर्षीया सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का, मधुवन नगरपालिका– ५ का ४० वर्षीय अमृत परियार र गुलरिया नगरपालिका–२ का सुभाष बिक लगायत सबै बेपत्ता र मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु,” सांसद गौतमले भने । उनले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वेपत्ताहरूको खोजीमा सरकारले अझ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।
साथै, बेपत्ता र घाइते परिवारका लागि तत्काल राहत तथा दीर्घकालीन उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत नेपाल सरकार समक्ष आग्रह गरे । हाल भारतीय सुरक्षा निकाय र स्थानीय प्रशासनले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।




