तराई क्षेत्रमा धान खेतीका लागि आवश्यक मलको अभावमा किसानहरु छटपटिएका छन् । कृषि सामग्री संस्थान र विभिन्न सहकारी संस्थाहरुमा मलको लागि किसानहरु लाइन लागेका दृश्यहरु देखिन थालेको धेरै भयो । किसानहरुलाई मलको हाहाकार छ तर सरकार उदासिन र लाचार बनेको छ ।

बर्दिया मुलुकमै सर्वाधिक धान उत्पादन गर्ने जिल्ला मध्ये एक हो । यस जिल्लाको राजापुर क्षेत्रलाई सरकारले धानको विशेष क्षेत्रको रूपमा प्राथमिकतामा राखेको छ । राजापुर क्षेत्र बाहेक जिल्लाका सबैजसो ठाउँमा यहाँ उल्लेख्य मात्रामा धान खेती गरिन्छ । तराईको उर्बरा क्षेत्र बर्दिया जिल्ला धान उत्पादनमा अग्र पङ्क्तिको जिल्ला हो । असार महिना लागेसगै यस जिल्लामा धान खेतीमा किसानहरु जुटन थालेका छन् । सिचाइ सुबिधा उपलब्ध भएको राजापुर क्षेत्रमा त किसानहरुले रोपाइँको तयारी थालेका छन् ।
रोपाइँको तयारी पूरा हुन लागिसके पनि खेतमा आवश्यक मल नपाउदा किसानहरु निराश एवम् चिन्तित छन् । जिल्लामा खेतीको समयमा सधैजसो मलको अभाव हुने गर्छ । किसानलाई आवश्यक बेलामा मलको अभाव हुने अवस्था नयाँ होइन । यो समस्या नेपालको लागि धेरै पुरानो र जानकारमा रहेको समस्या हो । जनताको आधारभूत समस्याको रूपमा रहेको मल उपलब्धताको समस्याका बारेमा राज्यका सबैजसो निकाय र जनप्रतिनिधिहरु समेत जानकार छन् । तथापि जनताको यो टड्कारो समस्याप्रति राज्यको अस्वाभाविक उदासिनता रहस्यमय र खेदजनक छ । यस विषयमा जनप्रतिनिधि हरुले समेत खबरदारी नगर्नु आपत्तिजनक विषय हो । धान खेतीको यो समयमा यथाशीघ्र जनतालाई मल उपलब्ध गराउन राज्यका निकायहरूले अविलम्ब प्रयास थाल्नु पर्छ । मल आपूर्तिलाई छरितो र दीर्घकालीन बनाउन सरकारलाई सचेत बनाउन खबरदारी आवश्यक छ । किसानको समस्याप्रति उदासिन रहनु लज्जास्पद काम हो।यो काम निन्दनीय छ ।





