बर्दियाको गुलरिया नगरपालिका वडा ५ बालापुरस्थित बबई नदीमा फसेका दुई जना वृद्धको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

आज दिउँसो करिब ४ बजेतिर गाईभैसी चराउन गएका गुलरिया नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु बबई नदीको बाढिमा फसेको खबर आउन साथ उद्धार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाका स.प्र.स.नि नविन थापाले जानकारि दिए ।
थापाको कमाण्डमा खटिएको १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। टोलीले तत्काल उद्धार कार्य सुरु गरी २५ मिनेटमा दुबैजनालाई सकुशल उद्धार गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। स्थानीयवासी र परिवारजनले सशस्त्र प्रहरी बलको तत्काल सक्रियता र सफल उद्धार कार्यको प्रशंसा गरेका छन्।




