सडक दुर्घटनाका धेरै कारणहरु मध्य छाडा पशु चौपायाले सडक क्षेत्र ओगटदा हुने दुर्घटना एक हो । सडकमा जथाभावी छाडा चौपाया हिड्नाले ट्राफिक नियमको पालनामा गतिरोध आउँदा दुर्घटनाका घटनहरु बढ्न थालेका छन् ।

बर्दियामा सडकमा जथाभावी छोडिएका पशु चौपायाका कारण जनसाधारणलाई मर्का परेको छ । गाई, बाख्रा, भैसी र कुकुरजस्ता जनावरहरु सडकमा जथाभावी छोड्दा सडक दुर्घटनामा वृद्धि भएर नागरिकको ज्यान जोखिममा पर्ने अवस्था बढ्दो छ । छाडा भुस्याहा कुकुरका कारण यातायात दुर्घटनाका साथै पैदल यात्रु समेत असुरक्षित छन् । छाडा कुकुरको टोकाइबाट रेविज जन्य रोगबाट नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने डर पनि त्यत्तिकै छ । गाई, गोरु र साढेको अनियंत्रित आवागमनबाट समेत सडक यातायात असुरक्षित बनेको छ । यी चौपाया छाडा हुँदा सर्वसाधारणलाई बालीनाली संरक्षणमा समेत कठिनाइ परेको छ ।
छाडा पशु विशेष गरेर गाई र गोरु नियन्त्रणका लागि पालिकाहरुले कान्जीहाउसको व्यवस्था गरेका छन् । तर कान्जीहाउस व्यवस्थित हुन नसक्दा समस्या समाधान हुन सकेको छैन । छाडा पशु नियन्त्रणका लागि पालिकाहरुले कानूनी र प्रशासनिक प्रयास पनि बढाउनु पर्ने आवश्यकता छ । आफ्ना पशु छाडा छोड्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने प्रयत्न गर्न समेत पालिकाहरुले थाल्न आवश्यक छ । पालिका तथा सरोकारवाला प्रशासनिक निकायलाई सघाउनु नागरिकको पनि कर्तव्य हो । छाडा चौपाया नियन्त्रण गर्न नागरिक प्रयास पनि अपरिहार्य छ । नागरिक, पालिका र सरोकारवाला अन्य सबै पक्षको सामुहिक प्रयत्न बाट मात्र छाडा पशुलाई अनियंत्रित छोड्ने प्रवृतिलाई निरुत्साहित गर्न सकिन्छ । छाडा पशु नियन्त्रणका लागि स्थानीय प्रशासनले हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक छ । आआफ्ना घरबाट पशु छोड्ने मानिसहरूलाई पहिचान गरेर कानूनी दायरामा ल्याउने अभियान थाल्ने हो भने छाडा पशु नियन्त्रण गर्न सहज हुन्छ र छाडा पशु नियन्त्रण गर्न सकेमा सडक दुर्घटना न्यूनीकरण हुन सक्छ ।





