लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना ले शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा सरकार लागिपरेको बताएका छन् । उनले सामुदायिक विद्यालय को शैक्षिक गुणस्तर सुधारमा योजना बद्धरुपमा काम गरिरहेको जनाए ।


सिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित बेलहिया माध्यमिक विद्यालयको निरीक्षण गर्दै उनले सामुदायिक विद्यालयको शिक्षा सुधार गरी निजीसरह प्रतिस्पर्धी बनाउन जरुरी रहेको बताए । मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै पठकपाठन सुधार गर्न मापदण्ड बनाएर काम गरिरहेको उनले जनाए ।
उनले बेलहिया माविको भौतिक पूर्वाधारलाई अब्बल बनाउन आवश्यक बजेट विनियोजन गरिए को बताए । आगामी दिन पनि यसलाई निरन्तरता दिँदै जाने बताउँदै मन्त्री तिमिल्सिनाले पठापाठनमा सुधार गरी अब्बल जनशक्ति उत्पादनमा ध्यान दिन विद्यालय व्यवस्थापन र शिक्षक–शिक्षिकालाई निर्देशन समेत दिए ।
विद्यालय निरीक्षण तथा अनुगमनमा मन्त्रालयका सचिव वसन्त प्रसाद कोइराला, शिक्षा तथा सामाजिक विकास निर्देशनालय का निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेल, रुपन्देही सामाजिक विकास डिभिजन प्रमुख हरि विष्ट लगायतले पुगेका थिए । उनीहरुले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाका बारेमा जानकारी दिएका थिए ।
मन्त्री तिमिल्सिनासहितको टिमलाई विद्यालयमा स्वागत गर्दै व्यवस्थापन समितिका अध्यक्ष देव राज न्यौपानेले समग्र विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । उनले शैक्षिक सुधारका लागि व्यवस्थापन समिति र शिक्षकशिक्षिकाले योजना बनाएर काम गरिरहेको सुनाए । यस क्षेत्रको पूरानो विद्यालय भएको र यहाँको भौतिक संरचना सुधारमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरी शैक्षिक उन्नयनमा पुर्याएको योगदानलाई अध्यक्ष न्यौपानेले धन्यवाद दिए । मन्त्रालयले विद्यालयको भौतिक संरचना निमर्णका लागि यस वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ ।




