बढैयाताल गाउँपालिकाका मुक्त कमैया र विपन्न परिवारका १ सय ७९ जना बालबालिका लाई निशुल्क विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।


एक्सन एड नेपाल तथा कमैया महिला जागरण समाज आर्थिक सहयोगमा र बढैयाताल गाउँ पालिकासँगको समन्वयमा वडा नं. ४, ५ र ९ का कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी लाई शुक्रबार एक औपचारिक कार्यक्रममार्फत सामाग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री र पोसाकको अभावका कारण बालबालिकाको पठनपाठनमा बाधा नआओस् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी चौधरीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले यस्ता शैक्षिक सामाग्रीहरुले बाल बालिकाको शैक्षिक वृत्तिको विकास मा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । वडा नं. ९ का अध्यक्ष विरबहादुर थारूले उक्त वडा मुक्तकमैया र सुकुम्बासी बस्ती भएकोले आर्थिक अभावका कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्न बाध्य भएको उल्लेख गर्दै यस्ता सहयोगले बालबालिका विद्यालयमा टिकिरहन प्रेरित हुने बताए ।
वितरण क्षैशिक सामग्रीमा प्रति विद्यार्थी विद्यालय ड्रेसको कपडा, जुत्तामोजा, कपी, पेन, ज्यामिट्री बक्स र विद्यालय झोला रहेको कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णीले भनिन् ।
विद्यालय पोसाक र शैक्षिक सामग्री पाएपछि बालबालिका निकै उत्साहित देखिएका थिए ।




