नेपाली राजनीतिका दुई शिखर व्यक्तित्व जन नायक विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको यही साउन ६ र ७ गते स्मृति दिवस परेको छ । नेपाली लोकतान्त्रिक आन्दोलनका प्रणेता वीपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साउन ६ गते उनको निधन भएको थियोे । वीपी कोइराला नेपाली काङ्ग्रेसका संस्थापक नेता, लोकतान्त्रिक समाजवादका सिधाान्तकार एवम् व्याख्याता र नेपाली साहित्यका एक शिद्धहस्त आख्यानकार थिए । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री कोइराला राणा शासन र पन्चायत सत्ताका विरुद्ध संघर्ष गर्ने अथक लोकतान्त्रिक योद्धा थिए ।

त्यसै गरी नेपालको वामपन्थी आन्दोलनका सूत्राधार पुष्पलाल श्रेष्ठको जन्म १९८१ असार १५ गते भएको थियो भने २०३५ साल साउन ६ गते उनको निधन भएको थियो । नेता पुष्पलालले नेपाली काङ्ग्रेसबाट राजनीतिको सुरुवात गरेका थिए । पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक थिए । नेपाली भाषामा कम्युनिस्ट पार्टीको घोषणा पत्रका अनुवादक, माक्र्सवादी विचारका सच्चा अनुयायी पुष्पलालले धेरै वामपन्थी वैचारिक कृतिको रचना गरेका छन् । राणा र पन्चायतका विरुद्ध अविचलित संघर्ष गर्ने पुष्पलाल वाम लोकतान्त्रिक सहयात्राका हिमायती हुन ।
जीवनभर निष्ठा र सिद्धान्तका लागि संघर्ष गर्ने, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणका स्वप्न द्रष्टा श्रद्धेय जननेता कोइराला र श्रेष्ठप्रति भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै वर्तमानमा मौलाएको राजनीतिक विकृति विरुद्ध लाग्ने प्रेरणा सबैमा आओस् भन्ने कामना गर्दछौं ।





