“पहिला विषादीको प्रयोग गथ्र्यौं, स्वास्थ्यमा असर पर्छ भन्ने थाहा थिएन । अहिले त आफैं बनाए को मल प्रयोग गर्छौं, स्वास्थ्यलाई असर पनि पर्दैन ।” यो भनाइ हो मधुवन नगरपालिका वडा नं २ की कमली थारूको, जो पछिल्लो समय प्राङ्गारिक मल बनाउने तालिम लिइ खेतिमा आफुले तयार गरेको मल प्रयोग गर्छिन ।


थारू महिला उत्थान केन्द्रले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा जालो अभियान अन्तर्गत जिल्लाका स्थानीय महिला किसान हरूलाई प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा दक्ष बनाउने तालिम दिइ आत्मनिर्भर बनाएको छ । मधुवन नगरपालिका वडा नं. १, २, ३ र गुलरिया नगरपालिका वडा नं. ४, ५ का महिला किसान हरूले हाल यस अभ्यासलाई जीवन शैलीमै रूपान्तरण गरिरहेका छन् । . स्थानिय स्रोत र साधनको प्रयोग गरी सजिलै बनाउन सक्ने मलले मित्रु जिवलाई बचाउने र शत्रु जिवलाई भगाउने काम गर्ने संस्था को धारणा रहेको छ ।

२०८१ साल माघ २३ गते, २ सय ६५ जना महिला किसानले औपचारिक रूपमा तालिम लिइ सकेका छन् । केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूका अनुसार, “रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रिन्छ । त्यसैले हामीले किसानलाई सजिलो तरिकाले झोल प्राङ्गारिक मल बनाउने सीप सिकाएका छौं । यसले खाद्य सुरक्षासँगै मानव स्वास्थ्यमा पनि सकारात्मक असर पार्दछ ।”
घरैबाट मल, स्वास्थ्यमै सुधार गर्न कहि कतै जान नपर्ने तालिम पछिका अनुभूति सुनाउँछिन् वडा नं ३ की सपना चौधरी — “हामीले आफैं बनाएको मल प्रयोग गरेको देखेर गाउँका अरु किसानहरू पनि अनुसरण गर्न थालेका छन् । घरकै सामग्रीबाट सजिलै मल बनाउन सकिन्छ । अब त विषादीको प्रयोग बन्द गरिसकेका छौं ।”

प्राकृतिक स्रोतबाट जैविक समाधान निकाल्न सकिन्छ भन्ने उदाहरण यहाका महिला किसानले दिएका छन । तालिममा लसुन, खुर्सानी, प्याज, पिसाब, गोबर, अम्बाको पात, आँपको पात, पाकेको मेवा, असुरो, निमको पात, केराको बोक्रा जस्ता प्राकृतिक स्रोतहरू प्रयोग गरेर झोल मल बनाउन सिकाइएको छ । यसले बिरुवालाई मल, पानी, विषादी र भिटामिनको काम गर्ने प्रशिक्षक तेजमणी पन्त बताउँछन् । “गर्मीयाममा २० दिन र जाडो मौसममा एक महिनासम्म राखेपछि एक गिलास झोललाई १० गिलास पानीमा मिसाएर सिंचाइ गर्न सकिन्छ,” पन्थ भन्छन् ।




