
राजेन्द्रप्रसाद धिताल / लेखक

आधनिक नेपाली भाषाको जन्म प्राचीन खस साम्राज्यको राजधानी सिंजा उपत्यकाकावाट भएको विद्वानहरुको मत छ । खस साम्राज्यको हिउँद कालीन राजधानी दुल्लू थियो । भेरी, कर्णाली, सेती, महाकालीको मनोहर प्राकृक्तिक छटाले सुसम्पन्न तथा तत्कालीन समयमा विजय वैभव को कीर्ति पताका फहराएको यस मनोहर धरामा कविता अवश्य लेखिए होलान् । इतिहासको कठोर अन्वेषणले कुनै दिन यो तथ्य सार्वजनिक गर्ला नै, यस क्षेत्रका काव्यमहनिषिहरुको विहंगम ध्यानदृष्टि यतातिर आकर्षित हुनु अपरिहार्य छ ।
अहिलेसम्म प्राप्त तथ्यका आधारमा नेपाली कविताको विजारोपण आनुनिक नेपालको निर्माण अभियान सँगसँगै भएको छ । आधुनिक नेपालका स्वप्न द्रष्टा एवं सपनालाई यथार्थमा अनुवाद गर्न चाहने कर्मठ महानायक पृथ्वी नारायण शाहले नेपाल एकी–करणको महायात्रा प्रारम्भ गरे । त्यसैताका तिनकै वीरत्वको वर्णन गर्दै एकजना लोक कबि सुवानन्द दासले स्वस्फूर्त कविता उद्घोष गरे :
दुद्कोसी साँध्लाई ल्याया गजमोती है
झिल्लीमिल्ली तरवार विजुलीकी ज्योति है
गोकुल पुग्यो नुवाकोट कृष्ण औतारी है ।
पृथ्वी नारायण शाहको अविश्रान्त दिग्विजयको प्रशंशा गरिएको सुवानन्द दासकों “पृथ्वीनारायण” कवितालाई नेपाली कविताको इतिहासमा प्रथम कविताको गौरव प्राप्त छ । यस पछि सुरु भएको नेपाली कविताको प्राथमिक कालको पूर्वार्ध चरण वीर धाराको चरण हो । शक्तिवल्लव अर्याल, उदयानन्द अर्याल, सुन्दरानन्द बाँडा, राधावल्लभ अर्याल, राम चन्द्र पाध्या रेग्मी, गुमानी पन्त जस्ता यस चरणका कविहरुमा बीरभावको गहिरो प्रभाव छ र साथै केहीमा भक्तिभावप्रति झुकाव रहेको छ ।
नेपाल अंग्रेज युद्ध पश्चात सम्पन्न सुगौलीको सन्धि (१८७२) ले नेपालको महत्वाकाँक्षी विजय अभियानलाई सदाका लागि पूर्ण विराम लगाई दिन्छ । वीरताका कुरा हराएर जान्छन् । युद्ध नायक अमर सिंह थापा दर्दनाक ढंगले देहत्याग गर्छन । बलभद्र कुँवर देश छोडेर अफगानीस्तानका लाहुरे बन्न पुग्छन् । दरवारी षडयन्त्रको कुचक्रमा देशभक्त भीमसेन थापा आत्महत्या गर्न पुग्छन् । षडयन्त्र र राजाहरुको घोर नालायकीले १९०३ को क्रुर नरसंहार (कोत पर्व) मार्फत जंगबहादुर सत्तामा आउँछन् । यी अध्यारा दिनहरुमा कविहरु विस्तारै विस्तारै भगवत भक्तितिर ढल्किन्छन् र त्यसमै पूर्णतया निमग्न हुन्छन् । भगवत भक्तिकै माध्यमवाट कविहरु समाजमा न्याय, समानता, ज्ञान, विवेक भक्ति र वैराग्यको पक्षपोषण गर्दछन् । भक्ति धाराका यस चरणमा मूलतः तिन प्रकारका मार्ग देखा पर्छन । कृष्णभक्ति धारा, रामभक्ति धारा र निर्गुणभक्ति धारा ।
कृष्णभक्ति धारामा इन्दिरस्, विद्यारण्य केशरी, वशन्त शर्मा, वीरशाली पन्त हीनव्याकरणी विद्यापति, पतञ्जली गजु¥याल जस्ता कविहरु निर्गुण भक्ति धारामा शशीधर, अगमदिलदास्, अखण्ड दिलदास, ज्ञान दिलदास जस्ता कविहरु तथा रामभक्ति धारामा रघुनाथ पोखरेल र भानुभक्त आचार्य महत्वपूर्ण देखिन्छन् ।
नेपाली कविता जगतमा आफू भन्दा पूर्व र समकालीन युगमै धेरै र प्रतिभा सम्पन्न कविहरु हुँदाहुँदै पनि आदिकविका रुपमा सम्मानित भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली साहित्यकै सर्वश्रेष्ठ पुरुष मानिन्छन् । सरल, भावमय तथा सुललित पदावली, समसामयिक लोकजीवनको छाप, लोकप्रचलित जीवन्त भाषाको सुन्दर प्रयोग, अभिव्यक्तिमा झल्किने सहजपन, हार्दिकता एवं मार्मिकता जस्ता वैशिष्ठ्य उनका कवितामा भेटिन्छन् । मेचि देखि महाकालीसम्मका नेपाली गाँउवस्तीहरुमा जीवन्त रुपमा भानुभक्त आचार्यका कविताहरु घन्किएकाले कवि नेपाली भावना–त्मक एकताका प्रतीक भएर नेपाली साहित्य संसारमा सर्वाधिक उज्ज्वल वन्न पुगेका छन् । भानुभक्तले कवितामा नेपाली भाषाको चोखो रुप दिए, त्यसैले गरी संस्कृतका कठिन छन्दहरु लाई नेपाली भाषामा सरल, गतिशील र जीवन्त वनाएर प्रस्तुत गरिदिए ।
रामायण, भक्तमाला, प्रश्नोत्तरमाला, वधुशिक्षा र रामगीता जस्ता कृतिहरु तथा अन्य फुटकर रचनाकारका रुपमा प्रतिष्ठित भानुभक्त आचार्य स्वभाविक र स्वस्फुर्त कवि हुन् । तत्काल कविता रचना गर्न सक्ने र कवितामै आफ्ना सम्पूर्ण भाव अभिव्यक्त गर्न सक्ने सामथ्र्य भानुभक्तमा रहेको पाइन्छ । प्राथमिक कालको उत्तरार्ध चरणमा उदाएका भानुभक्तले नेपाली भाषिक एकीकरणको गम्भिर दायित्व निर्वाह गरे ।
रामायण उनको अमूल्य कृति हो । वाल्मीकिले संस्कृतमा रचेको आध्यात्म रामायणलाई नेपालीमा भवानुवाद गरी भानुभक्तले नेपाली भाषामा सर्वप्रथम महाकाव्य रचना गरे । धार्मिक तथा नैतिक आदर्शले ओतप्रोत रामकथा सरल भाषामा, सरल एवं श्रुतिमधुर शैलीमा जनसमक्ष प्रस्तुत गरिदिनाले रामायणको लोकप्रियता चुलिन पुग्यो । भानुभक्तको रामायण नेपाली भाषा साहित्यको एक अभिन्न अंग वन्न पुग्यो । मोतीराम भट्टले रामायण प्रका–शन गरी नेपाली जनसमाजमा सार्वजनिक गरिदिए पछि यसले नेपाली जनजीवनमा एउटा हार्दिक तरंग उत्पन्न ग¥यो । विविधतामा रहेका नेपाली भाषा–भाषिकाहरु लाई यसले भावनात्मक रुपमा जोड्यो । समाजमा ज्ञान, विवेक र नैतिकताको भाव सम्प्रेषण गर्यो ।
देशभक्तिको भावना, पितृभक्ति एवं आज्ञाकारिता, भातृत्वप्रेम, नारी सत्चरित्रता, वासना र विलाश को परित्याग एवं एक पत्नीत्व धर्मको पालना, भोग विलाश प्रति अनाशक्ति तथा वैराग्य चेतना, राजा तथा शासकको कर्तव्य, जनताप्रतिको उत्तर–दायित्व, आसुरी प्रकृतिको विनास र नैतिक आदर्शको जीतजस्ता उच्च महिमामण्डित भावहरुको सरल, सरस एवं काव्यमय प्रस्तुतीले रामायण महाकाव्य नेपाली समाजको मार्गदर्शक गुरु बन्न पुगेको छ । जस्तै :
देश देशका वाटुलिन्छन् वुझ तिमी मनले वाटाका पाटीमाहाँ
वात्चित् गर्दै रहन्छन् खुसीसित मनले वन्धु झै रातिमाहाँ
प्रातः कालू भो जसैता उठीकन ती सबै दश्दिशा लागि जान्छन् ।
वन्धुको संग यस्तो बुझिकन गुणीले दुःख सुख एक मान्छन् ।
छायाँ तुल्य छ लक्ष्मी यौवन भन्या भेलै सरिको भनी ।
भन्छन स्वी सुखलाई स्वप्न सरिको साँचो कुरा हो भनी
यस्तै जानी पनि मनुष्यहरु सब् संसारमा भुल्दछन ।
भुल्नैका वसले अनेक फजिती संसारी भै डुल्दछन् ।
गहन पूर्वीय अध्यात्म दर्शन र वेदान्त सारलाई भावमय ढंगले सरल नेपानीमा अभिव्यक्त गर्न सक्नु चानचुने कुरा होइन । यो त पूर्ण समर्पण र कठिन साधनाको प्रतिफल हो । त्यसैले भानुभक्त आचार्य भगवान रामका उपासक मात्र हैनन्, उनी त नेपाल देश, नेपाली जाति र नेपाली भाषाका सम्पूर्ण उपासक हुन् । नीति चेतना र अध्यात्म भावभक्तिको प्रयोग गरिएका अन्य कृतिहरु भक्तमाला, प्रश्नोत्तर माला र रामगीता हुन् । वधुशिक्षामा सामा– जिक चेतना अभिव्यजित भएको छ । अन्य फुटकर रचनाहरुमा भानुभक्त आचार्य कतै देशभक्त प्रकृतिप्रेमी देखापर्छन भने कतै
व्यग्यं चेतनायुक्त यथार्थवादी कवि । जस्तै वालाजु वर्णनमा –
चपला अवलाहरु एक सुरमा
गुन केशरीको फूल ली शिरमा
हिडन्या सखि लीकन वरिपरी
अमरावती कान्तिपूरी नगरी
त्यस्तै जागिरे हुँदा सरकारी रकम हिनामिना गरेको आरोपमा कुमारी चोक थुनामा थुनिदा उनले तत्कालीन जेलको यथार्थ वर्णन गर्दै व्यङ्ग्य चेतनायुक्त कविता रचना गरेका छन्, जस्तै :
रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछु
रातभर नाच पनि हेर्छु खर्च नगरी ठुला चयनमा म छु
लामखुट्टे उपियाँ उडुस यी सँगी छन् यिनकै लहडका वसी
लामखुट्टेहरु गाँउछन् यी उपियाँ नाच्छन् म हेर्छु वसी
समय, परिवेश र सामाजिकता लाई वोध गर्दै तत्काल मार्मिक कविता लेख्न सक्ने भानुभक्त नेपाली धार्मिक, साँकृतिक चेतनाका संवाहक कविका रुपमा सुपरिचित छन् । कवि मोतीराम भट्टले भक्तिरसमा भानुभक्त भन्दा वढ्ता अर्को कोही कवि हुनसक्तैन भन्ने ठोकुवा गरेका छन् । भानुभक्तको कवित्वमा थोरै मात्रामा श्रृंगारिकता पनि देखिएको छ । उनै मोतीरामले भानुभक्तका दुई पंक्ति श्रृंगार रसका कविता पनि खोजी गरी प्रस्तुत गरेका छन् जस्तै :
विन्ती एक म गर्दछु सुन प्रिय प्रीति निरन्तर् रहोस्
ताहाँका मन पिंजरा म मुनिजा यै चाल सदाकालू रहोस् ।
विभिन्न भाव, रस तथा अलंकारयुक्त कविता लेख्ने कवि भानुभक्त आचार्यका कवितामा भक्तिपरकता, औपदेशिकता, आध्यामिकता, नैतिकता, सुधारात्मकता तथा व्यङ्ग्यात्मकता जस्ता विशेषताहरु पाइन्छन् । नेपाली भाषा, साहित्यका अमर साधक भानुभक्तको साहित्यिक योगदान अद्वितीय छ, स्तुत्य छ ।




