बर्दियामा सडकमा जथाभावी छोडिएका पशु चौपायाका कारण जनसाधारणलाई मर्का परेको छ । गाई, बाख्रा ,भैसी र कुकुरजस्ता जनावरहरु सडकमा जथाभावी छोड्दा सडक दुर्घटनामा वृद्धि भएर नागरिकको ज्यान जोखिममा पर्ने अवस्था बढ्दो छ।छाडा भुस्याहा कुकुरका कारण यातायात दुर्घटनाका साथै पैदल यात्रु समेत असुरक्षित छन् ।छाडा कुकुरको टोकाइबाट रेविज जन्य रोगबाट नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने डर पनि त्यत्तिकै छ।गाई, गोरु र साढेको अनियंत्रित आवागमनबाट समेत सडक यातायात असुरक्षित बनेको छ।यी चौपाया छाडा हुँदा सर्वसाधारणलाई बालीनाली संरक्षणमा समेत कठिनाइ परेको छ।


छाडा पशु विशेष गरेर गाई र गोरु नियन्त्रणका लागि पालिकाहरुले कान्जीहाउसको व्यवस्था गरेका छन् ।तर कान्जीहाउस व्यवस्थित हुन नसक्दा समस्या समाधान हुन सकेको छैन ।छाडा पशु नियन्त्रणका लागि पालिकाहरुले कानूनी र प्रशासनिक प्रयास पनि बढाउनु पर्ने आवश्यकता छ।आफ्ना पशु छाडा छोड्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने प्रयत्न गर्न समेत पालिकाहरुले थाल्न आवश्यक छ।पालिका तथा सरोकारवाला प्रशासनिक निलायलाई सघाउनु नागरिकको पनि कर्तव्य हो।छाडा चौपाया नियन्त्रण गर्न नागरिक प्रयास पनि अपरिहार्य छ।नागरिक ,पालिका र सरोकारवाला अन्य सबै पक्षको सामुहिक प्रयत्नबाट मात्र छाडा पशुलाई अनियंत्रित छोड्ने प्रवृतिलाई निरुत्साहित गर्न सकिन्छ ।




