खुला सीमाका कारण हुने अनियमित सामान ओसारपसार र अवैध कारोबारका कारण नेपालका स्थानीय बजारहरु सुक्दै गएका छन् । नेपाली सीमावर्ती क्षेत्रका व्यापारीहरुको व्यापार कम्जोर हुदैछ, जसका कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।


नेपाल र भारतबीच पूर्व पश्चिम र दक्षिणतिर गरी तीनतिर खुला सीमाना रहेको धरातलीय यथार्थ हाम्रा सामु छ । ठूलो अर्थतन्त्र, विकासमा फड्को मारिसकेको देश, ठूल्ठूला औद्योगिक प्रतिष्ठान र अस्पताल, धार्मिक सांस्कृत महत्त्वका सुप्रशिद्ध तीर्थस्थल भएको छिमेकी देशमा खुला सीमा हुनु नेपाल देश र नेपाली जनताका लागि ठूलो अवसर हुनुपथ्र्यो तर हाम्रो पछौटेपन र अकर्मण्यताका कारण खुला सीमा हाम्रा लागि अभिसाप बन्न पुगेको छ । तस्करी, आपराधिक गतिविधि लगायतका समस्याहरु एकातिर मुलुकको टाउको दुखाइ बनेको स्थिति छ भने अर्कोतिर नेपालको अर्थब्यबस्थामा समेत प्रतिकूल असर पुगेको छ । बिशेष गरेर तराईमा सीमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान छन् भने सीमा क्षेत्रमा रहेका भारतीय ससाना बजारहरु भने गुलजार छन । नेपाली उपभोक्ता हरु अनौठो तरिकाले भारतीय बजारतिर आकर्षित हुने प्रवृतिले नेपाली व्यापारीहरु धरासायी बन्न पुगेका छन् भने भारतीय व्यापारीहरु मालामाल बनेका छन् । खुला रूपमा अनियंत्रित मालसामानको ओसारपसारले नेपाली भन्सार व्यवस्था समेत प्रभावित भएको छ । आजभोलि त नेपाली व्यापारीहरुले समेत भारतीय बजारमा पसल थाप्न थालेको अवस्था छ । यही प्रकारले खुला सीमामा अनियंत्रित कारोबार हुदै जाने हो भने नेपाली अर्थतन्त्र धरासायी हुन बेर लाग्ने छैन । लामो समयदेखि नै यस्तो नकारात्मक अवस्था विद्यमान रहदा पनि सरोकारवाला नेपाली पक्षका नीति निर्माताहरुलाई विषयवस्तुको गम्भीरता महसुस हुन सकेको छैन ,राजनैतिक नेतृत्व, प्रशासनिक पक्ष र व्यापारिक समूहबाट एकीकृत रुपमा यस विषयमा गम्भीरता देखाउन आवश्यक छ ।




