बर्दियामा सञ्चालित विभिन्न कृषि जोन तथा सुपरजोन समन्वय समितिको बैठक गुलरियामा सम्पन्न भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, बर्दियाको आयोजनामा नीति, कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि विहिवार समन्वय बैठक बसेको हो।


बैठकमा माछा जोन, धान जोन, केरा जोन, गाई-भैंसी जोनलगायतमा आबद्ध किसानहरूले सम्बन्धित जोनको अवस्था, चुनौती र आगामी योजनाबारे आफ्ना धारणा राखेका थिए। माछा जोन, बढैयातालका इन्द्रप्रसाद लुइँटेलले माछापालनमा किसानहरू सन्तुष्ट रहेको बताउँदै क्षेत्र विस्तार, बोरिङमार्फत पानीको व्यवस्था र बजारिकरणका लागि पहल गर्नुपर्ने माग राखे। उनले माछापालनले रोजगारी सृजना गरेको र युवाहरू विदेश नगई स्थानीय स्तरमा संलग्न भएको उल्लेख गरे।

केरा जोन, गुलरियाका शम्भुप्रसाद अधिकारीले केराको व्यापार राम्रो भइरहेको बताउँदै अन्य जोनहरूजस्तै केरा जोनको बजेट वृद्धिको आवश्यकता औंल्याए। अर्का किसान काशिराम पौडेलले परियोजनाको सेवाप्रति सन्तुष्टि व्यक्त गरे।
जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर बिष्टले बर्दियामा मकै खेतीले समेत प्रगति गरिरहेको उल्लेख गर्दै मकैका लागि विशेष योजना वा जोन निर्धारण गर्न सुझाव दिए। उनले माटोको अवस्थाअनुसार उपयुक्त खेती र कार्यक्रम सञ्चालन गर्न परियोजनालाई आग्रह गरे।

परियोजना प्रमुखले किसानका समस्या समाधानमा किसानको पनि जिम्मेवारी रहेको बताउँदै सिँचाइको पहल गर्ने र उत्पादनका लागि मध्यस्थकर्ताको सहयोग आवश्यक रहेको उल्लेख गरे। आगामी वर्षमा किसानका माग र योजनाहरू समेट्ने प्रतिबद्धता उनले व्यक्त गरे।कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, विनियोजित बजेट, लाभान्वित सङ्ख्या र चुनौतीहरूबारे परियोजना अधिकृत युवराज विकले प्रस्तुति दिए। बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकाल, विभिन्न पालिका मा रहेका माछापालन, गाई-भैंसी पालन, केरा र धान खेती गर्ने किसानहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।




