ठाकुरबाबा नगरपालिकाले संघिय सरकारले दिने विशेष अनुदानमा १० करोड ५० लाख रुपैया पाउने भएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि देशभरका पालिकालाई उपलब्ध गराउने विशेष र समपुरक अनुदानको विवरण केहि दिन अघि सार्वजनिक गरेको थियो । ठाकुरबाबा नगरपालिकाले संघिय सरकारले दिने विशेष अनुदान शीर्षकमा ३ करोड २० लाख र समपुरक अनुदानतर्फ ७ करोड २१ लाख गरी जम्मा १० करोड ५० लाख रुपैयाँ पाउने भएको छ ।

“संघीय सरकारले सार्वजनिक गरेको यो विवरण अनुसार ठाकुरबाबा न केवल बर्दिया मै, सम्भवतः लुम्बिनी प्रदेश र देशभरकै अग्रस्थानमा रहेको पालिका रहेको” ठाकुरबाबा गरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
बर्दिया जिल्लाका आठ वटै पालिकालाई कूल २६ करोड ५० लाख रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । संघीय सरकारको सार्वजनिक प्रतिवेदनअनुसार जिल्लामध्ये सबैभन्दा बढी अनुदान प्राप्त गर्ने पालिका ठाकुरबाबा नगरपालिका रहेको छ ।
त्यस्तै गुलरिया नगरपालिकाले विशेष अनुदानमा ८५ लाख र समपुरक अनुदानमा १ करोड ८८ लाख प्राप्त गर्नेछ। मधुवन नगरपालिकाले ७५ लाख विशेष र १ करोड ९८ लाख समपुरक गरी २ करोड ७३ लाख रुपैयाँ पाउनेछ । बारबर्दिया नगरपालिकालाई भने २ करोड विशेष र ५१ लाख समपुरक अनुदानसहित कूल २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै गेरुवा गाउँपालिकाले २ करोड ६९ लाख विशेष र १ करोड ५१ लाख समपुरक गरी कूल ४ करोड २० लाख प्राप्त गर्नेछ । राजापुर नगरपालिकालाई केवल समपुरक अनुदानअन्तर्गत १ करोड ३४ लाख प्राप्त हुनेछ भने बाँसगढी नगरपालिकालाई पनि विशेष अनुदान नदिइ समपुरक अनुदानमा ८९ लाख रुपैयाँ उपलब्ध गराइनेछ । त्यसैगरी बढैयाताल गाउँपालिकाले ३० लाख विशेष र ९० लाख समपुरक अनुदानसहित १ करोड २० लाख पाउने भएको छ ।

संघीय सरकारले प्रदान गर्ने यस विशेष र समपुरक अनुदानले पालिकाहरूको पूर्वाधार, सेवा प्रवाह तथा स्थानीय विकासमा योगदान पुग्ने विश्वास स्थानीय तहका जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् ।




