बर्दिया प्रहरीले पछिल्लो क्रममा लागुऔषध कारोवारी र सेवनकर्ताहरुलाई धमाधम प्रक्राउ गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेका तीन जना व्यक्तिलाई लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।


इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–३ तमौलीपुरस्थित सडक खण्डमा भारततर्फबाट नेपालतर्फ आइरहेको भे १२ प ६६६३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि तिनै जना लाई नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यलय, बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपाल जानकारी दिए ।
डमरपालका अनुसार मोटरसाइकल चालक अछाम जिल्ला कमलबजार नगरपालिका–५ का २३ वर्षीय दिक्षित तिमिल्सिना, साथै सवार बाँके जिल्ला खजुरा गाउँपालिका–६ सिमलघारीका २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।
तीनै जनाको साथबाट १ पुडिया प्लास्टिकमा लुकाईछिपाई राखिएको खैरो रंगको लागूऔषध (ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ) फेला परेको हो । उक्त पदार्थको तौल प्लास्टिकसहित १ ग्राम २२० मिलिग्राम रहेकामा शुद्ध तौल ८७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।




