काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता अहिलेको परिस्थितिमा झनै महत्वपूर्ण हुँदै गएको बताएका छन्।


आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले देशमा व्याप्त राजनीतिक अन्योल, संस्थागत कमजोरी र जनविश्वासको ह्रासलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको तर्क गरे। उनले भने, “सरकार सरकारजस्तो भएर चलेको छैन, संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकेको गुनासो गरिरहेका छन् ।”

गौतमका अनुसार विभिन्न तहका सरकार र संसदहरू भए पनि ती जनतामा आशा जगाउन असफल भएका छन्। संघीयता कार्यान्वयनका नाममा संघ र प्रदेशमा गरी आठवटा सरकार तथा आठवटा संसद् रहेका भए पनि ती सरकार र संसदबाट जनताले अपेक्षाअनुसार सेवा र परिणाम प्राप्त गर्न सकेका छैनन्। उनले थपे, “निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकियो भने मात्र यावत समस्या समाधान सम्भव हुन्छ ।”
गौतमले राष्ट्रिय सहमतिको सरकारले विकास, सुशासन, न्याय र स्थायित्वका सवालमा सशक्त ढंगले काम गर्न सक्ने विश्वास व्यक्त गरे। उनले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, तथा सेवा प्रवाहमा देखिएको अराजकतालाई सम्बोधन गर्न दलहरूबीच न्यूनतम सहमति आवश्यक रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दलहरूलाई आत्मसमालोचना गर्दै साझा एजेन्डाका आधारमा अगाडि बढ्न आह्वान गरे।




