बर्दिया, बैशाख ३१ – बालविवाह, किशोर अवस्था र किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका भित्रका किशोरीहरुका लागी”शारीरिक र यौनजन्य हिंसाबाट जोगिने सीप तथा सशक्तिकरण तालिम” सम्पन्न भएको छ।


तीनदिने उक्त तालिम २०८२ बैशाख २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको गुलरियामा सम्पन्न भएको सतमार्ग परामर्श एवं पुनर्स्थापना केन्द्रका मोहित पौडेलले जानकारी गराएका छन ।

उक्त तालिमको आयोजना सतमार्ग परामर्श एवं पुनर्स्थापना केन्द्र, गुलरियाले गरेको थियो भने लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको सहयोग रहेको थियो।
तालिममा ६० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता सतमार्ग परामर्श एवं पुनर्स्थापना केन्द्रका मोहित पौडेलले गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभासद् माननीय माल्ती सोडारीले आफ्नो मन्तव्य दिँदै किशोरीहरूलाई सशक्त बनाउने यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले यौनजन्य हिंसाबाट बच्न जानकारी र आत्मविश्वास अत्यन्त जरुरी रहेको पनि उल्लेख गर्नुभयो। सोडारीले प्रदेशले दिने सेवा आम सबै नागरिकले थाहा पाउनु पर्ने समेत बताउदै आगाम दिनमा यसलाई अझै प्रभावकारी रुपले अगाडी बढाउँदै लैजाने समेत बताउनु भयो ।
तालिममा शान्ति पुनर्स्थापना केन्द्रकी सपना शर्मा अधिवक्ता लक्ष्मी नेपाल, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले शारीरिक र मानसिक सशक्तिकरण, कानुनी अधिकार, आत्मरक्षा सीप र परामर्श सम्बन्धी प्रशिक्षण दिएका थिए।
यस्ता किसिमका तालिमले जिल्लामा रहेका किशोरीहरूमा आत्मविश्वास बढाउने र उनीहरूलाई हिंसाबाट जोगिन सक्ने व्यवहारिक सीप विकास गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका छन्।




