नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र बैङ्कभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।

उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको समेत बताए ।
उनले सत्ता गठबन्धनमा समेत कुनै समस्या नभएको दाबी गरे । उनले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धनमा समस्या नरहेको बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताए ।
उनले भने, ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन ।
त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ ।
अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उनले गठबन्धनमा कुनै पनि समस्या क्रिएट गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैङ्कको गभर्नरको सम्बन्धमा उनले ल्याएको समस्या चाहिँ होइन ।
राष्ट्र बैङ्कभित्रै आएको समस्या हो । उन गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उनले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’
वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरूप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।




