बर्दियाको मधुवन नगरपालिकामा वैशाख २१ गते, आइतबार साँझ परेको असिनापानीले हिउँदे बाली र तरकारीखेतीमा व्यापक क्षति पुर्याएको छ। यस प्राकृतिक विपत्तिले लाखौंको लगानीमा लगाइएका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू मारमा परेका छन्।


मधुवन नगरपालिका कृषि शाखाका अधिकृत एकराज वलीका अनुसार आइतबार साँझ पाँच बजेपछि आएको मुसलधारे असिना पानीले नगरपालिकाका पाँच वटा वडाका लहरेवाली र मकै खेतीमा करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। “सोमबारदेखि तथ्यांक संकलनको काम सुरु गरिएको छ। पूर्ण विवरण आउन केही दिन लाग्न सक्छ,” वलीले बताए।
नगरपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ मा लगाइएको काक्रो, फर्सी, बोडी, घिरौंला लगायतका लहरेवाली तथा मकै खेतीमा पूर्ण रूपमा क्षति पुगेको छ।

वडा नं. ४ की किसान सयारानी चौधरीले रुँदै भनिन्, “अहिले काक्रो बेच्ने समय थियो, तर असिनाले सबै बिरुवा नष्ट गरिदियो।”
यस्तै, वडा नं. ६ का किसान खड्क बहादुर शाहीले भने, “बोराबाट आलु झरेको जस्तो गरी असिना पर्यो। मेरो १० कठ्ठामा लगाइएको मकै पूरै नष्ट भयो।”
कृषकहरूलाई तत्काल राहत तथा क्षतिपूर्तिको माग गर्दै स्थानीय स्तरमा पहल थालिएको जनाइएको छ।




