बर्दिया, वैशाख २२/ नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी संरक्षक रेशम लाल चौधरीको पक्राउबारे सरकारसँग जवाफ माग गर्दै भोलि मंगलबार सम्म स्पष्ट धारणा नआए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

नाउपाका सांसद लालवीर चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रधानमन्त्री वा गृहमन्त्रीले भोलिसम्म जवाफ नदिए पार्टी सरकारबाट फिर्ता हुने बताएका छन् । “यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन,” उनले भने, “प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।”
सांसद चौधरीले वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टी संरक्षक रेशम लाल चौधरीलाई ‘अपहरण शैलीमा’ पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याइएको आरोप पनि लगाए । उनका अनुसार प्रज्ञा भवनमा एकीकरण घोषणा कार्यक्रम भइरहेका बेला चौधरीलाई सिभिल ड्रेसमा आएका प्रहरीले एकाएक पक्राउ गरेका थिए ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि चौधरी पक्राउ प्रकरण ‘रहस्यमय’ भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
नाउपाको चेतावनीसँगै सरकारमा संलग्न सत्तारुढ गठबन्धनभित्रको तनाव थप चुलिएको देखिन्छ ।
नाउपाबाट सांसद भएका अरुण चौधरी नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीका रूपमा सरकारमा छन् ।




