• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एक सय पचासी वर्षपछि भेटियो ओत

  •  अविनाश चौधरी
  • २०८१ माघ २४, बिहीबार १०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, माघ २४ गते / नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो प्रजातिको ओत नेपालमा देखिएको थिएन । लामो समयावधिसम्म सानो ओत देखा नपर्नु र अस्तित्वको कुनै ठोस प्रमाण नभेटिनुले सानो ओत नेपालबाट लोप भएको आशङ्का गरिएको थियो ।

    डडेलधुरामा सो प्रजातिको ओत फेला पर्नुले सानो ओतको अस्तित्व अझै कायम रहेको पुष्टि भएको छ । डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत राजीव चौधरीका अनुसार गत मङ्सिर (सन् २०२४ नोभेम्बर) मा रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलबाट स्थानीयले सानो ओतको छाउरालाई पक्रेर ल्याएका थिए । “हामीलाई खबर आएपछि त्यसको उद्धार गरेर केही दिन पालनपोषणपछि फेरि प्राकृतिक वासस्थानमा छोडेका छौँ,” उहाँले भन्नुभयो, “साथै प्रजाति पहिचानका लागि फोटो खिचेर मैले अरू विज्ञलाई पठाएको थिएँ ।”

    मोहनविक्रम श्रेष्ठ, गङ्गा श्रेष्ठ, हिरूलाल डङ्गौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सेभेज र जुओफु सियाङको टोलीले उक्त प्रजाति सानो ओत रहेको पुष्टि गरेको छ । नेपालमा १८५ वर्षपछि पुनः भेटिएको तस्बिरसहित उहाँहरूको संयुक्त लेख अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को ‘एसएससी ओत स्पेसलिस्ट ग्रुप बुलेटिन’ मा प्रकाशित भएको छ ।

    रङ्गुन र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओतको बथान नै रहेको वन अधिकृत चौधरीले बताउनुभयो । “त्यहाँका स्थानीयले दुवै खोलाको सङ्गमस्थलमा सानो ओतको बथानै देख्दै आएका छन्,” उहाँले भन्नुभयो, “बथानबाटै स्थानीयले छाउरा पक्रेर ल्याएका थिए ।” उक्त स्थानमा सानो ओतको छाउरा भेटिनुले पनि त्यहाँ अन्य ओत रहेको पुष्टि हुने गरेको आइयुसिएनको जर्नलमा प्रकाशित लेखमा उल्लेख गरिएको छ । सानो ओतको यस महत्वपूर्ण अभिलेखसँगै विस्तृत अध्ययन र संरक्षणका पहलको आवश्यकता रहेको प्रकाशित लेखमा औँल्याइएको छ ।

    नेपालका तराई र पहाडमा बस्न सक्ने सानो ओत वासस्थान विनाशका कारण निकुञ्ज क्षेत्रबाहेक अन्य ठाउँमा पाइँदैन भन्ने भनाइ थियो । पछिल्लो अभिलेखले सानो ओतको अस्तित्व निकुञ्ज क्षेत्रबाहिर रहेको पनि पुष्टि गरेको छ । पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण यो जीव जमिन र पानी दुवैमा बस्ने गर्दछ । आहाराका लागि भने पानीमा निर्भर हुने गर्दछ । सानो ओत विशेष गरेर माछा खाएर बाँच्ने गरेको वन अधिकृत चौधरीले जानकारी दिनुभयो । यसै गरी गँगटो, झिङ्गेमाछा र घोँगी पनि खाने गरेको जनाइएको छ । ओतले स्वच्छ पानी र ध्वनि प्रदूषणमुक्त वातावरणको प्रतिनिधित्व गर्ने गरेको बताइएको छ ।

    डडेलधुराको ढुङ्गे बगर, पानी र नजिक वन भएको ठाउँमा सानो ओत अभिलेख भएको अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले बताउनुभयो । “सुनसान वातावरण भएको त्यो ठाउँ मानवीय गतिविधि कम हुने क्षेत्र रहेछ,” उहाँले भन्नुभयो, “त्यहाँ सानो ओत बस्नका लागि उपयुक्त वातावरण रहेको देखियो ।”

    वासस्थान मुख्य चुनौती

    नेपालमा कालो ओत, खैरो ओत र सानो ओत गरी तीन प्रजातिका ओत पाइने गरेका छन् । प्राकृतिक वासस्थानको विनाशले यिनीहरूको अस्तित्व सङ्कटमा परिरहेको छ । नदीनालाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननका कारण सानो ओतको अस्तित्व सङ्कटमा परेको अनुसन्धानकर्मी डङ्गौराको भनाइ छ । “प्राकृतिक वासस्थानको विनाश नै मुख्य चुनौतीका रूपमा देखिएको छ,” उहाँले थप्नुभयो, “मान्छेले समात्ने र मार्ने कारणले पनि ओतको सङ्ख्या घटिरहेको छ ।”

     

     

     

    साभार गोरखापत्र

    Post Views: 383
    प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार १०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.