बर्दिया(बगनाहा), माघ २० गते / नेपाल रेडक्रस सोसाईटी, ठाकुरबाबा उपशाखाको २९ औं बार्षिक साधारण सभा चुरे क्याम्पस वगनाहामा शनिवार सम्पन्न भएको छ ।


नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपालको सभापतित्व एवम् प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका पूर्व सभापति महेश चन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाका उपमन्त्री एवम् जिल्ला शाखा प्रतिनिधि अशोक प्रसाद सिग्देल, नेपाल रेडक्रस सोसाइटी साविक ठाकुरद्वारा उपशाखाका पूर्व सभापति एबम् सल्लाहकार काशीराम पोखरेल, बगनाहा उपशाखा पूर्व सभापति एवम् सल्लाहकार पुष्पराज बजगाईं, पूर्व सचिव कृष्ण बहादुर थापा लगायतका वक्ताहरुले रेडक्रस अभियान सञ्चालनमा ठाकुरबाबा उपशाखाका गतिविधिको चर्चा गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सभाले सभापति यज्ञ नेपालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम एवम् कोषाध्यक्ष राजेन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
ठाकुरबाबा नगरपालिका कार्यक्षेत्र रहेको ठाकुरबाबा उपशाखामा हाल ६ सय ३७ सदस्य रहेका छन् भने उपशाखाले एम्बुलेंस सेवाका साथै प्राथमिक उपचार , विपदमा राहत तथा उद्दार, रक्तदान तथा रगत व्यवस्थापन एवम विद्यालय तथा क्याम्पसमा गठित जूनियर /युवा रेडक्रस सर्कल मार्फत विभिन्न गतिविधि संचालन गरिरहेको सभापति नेपालले जानकारी दिनु भयो।

उपशाखा सचिव अर्जुन थापाले संचालन गर्नु भएको सभामा स्वागत मन्तव्य उपसभापति विजया खनालले गर्नु भएको थियो ।




