काठमाडौँ, पुस २९ गते / परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको स्पष्ट पारेकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उनले सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताइन् । उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताइन् । उनले चीन सरकारबाट बीआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरू एड फाइनान्सिङमै आउने बताइन् ।


उनले भनिन्, ‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) डेथ सर्विसिङमा छ । हामी कुनै पनि प्रकारको ऋण दिने अवस्थामा छैनौँ । त्यसकारण हामीले तपाईँसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौँ भनेर निर्लज्जका साथ प्रस्तुति गरेकी छु । जे हो त्यो त भन्ने पर्यो नि । अहिले हामीले जतिपनि परियोजना यसमा हालेका छौँ त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भन्नभुभएको छ भने जति पनि परियोजना हामीले दिने भनेका छौँ त्यही अन्तर्गत आउँछ ।’
बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री राणाले छलफल विभिन्न महत्त्वपूर्ण सम्झौता भएको उल्लेख गरिन् । उनकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा-छहरे सुरुङ मार्ग, नेपाल-चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान-प्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदान-प्रदान लगायतका विषयमा सम्झौता भएको छ ।




