• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नौमती बाजा संरक्षणमा महिला

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १७, सोमबार १२:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+
    • पछिल्लो पुस्तामाझ नौमती बाजा बजाउने भेटिनै छोडेपछि भुम्लु–६ का केही महिलाहरू मिलेर दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंगा फुक्न र बजाउन सिकिरहेका छन् ।

    काभ्रे, मंसिर १७ गते /  नौमती बाजाको धुनले कोलाती गाउँनै गुन्जायमान थियो । कोही दमाहा, झ्याली, ट्याम्को, ढोलक बजाउँदै छन् त, कोही सहनाई, कर्नाल, नरसिंगा फुकेर झ्याउरे भाकामा बाजा बजाइरहेका छन् ।

    न कुनै शुभ कार्य, न कुनै उत्सव नै । तर पनि महिलाहरूको एक समूहले नौमती बाजा घन्काइरहेका थिए । भुम्लु गाउँपालिका–६ स्थित कोलातीमा केही दिनयता यस्तै दृश्य देख्न पाइन्छ ।

    लोपोन्मुख हुन लागेको नौमती बाजा संरक्षण गर्न भुम्लु–६ का महिलाहरू जुर्मुराएका छन् । उनीहरू समूहमा रहेर नौमती बाजा बजाउने सीप सिकिरहेका छन् । पहिलो पटक हातमा कर्नाल पर्दा स्थानीय ३८ वर्षीया गीता नेपाली उत्साहित देखिन्थिन् ।

    ‘बिहे–भोजतिर जाँदा अरूले कर्नाल फुकेको देख्दा आफूलाई पनि बजाउन खुब रहर लाग्थ्यो,’ उनले भनिन्, ‘कतै–कतै त महिलाहरूले पनि बजाएको देख्दा झनै बजाउ, बजाउ लाग्थ्यो, रहर लागे पनि सिक्ने अवसर पाएको थिइनँ ।’ नौमती बाजामा रम्नुको मज्जा नै छुट्ने हुने उनी बताउँछिन् । तर, नौमती बाजा बजाउने सीप नै सीमित व्यक्तिसँग भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर बाजा बजाउने सीप सिकिरहेको उनले बताइन् ।

    उनका अनुसार नौमती बाजा बजाउने सीपमा महिलाको सहभागिता निकै नै कम छ । ‘महिलाहरूले पनि यो सीप सिकेर उदाहरणीय काम गर्न सक्छन् भनेर देखाउनका लागि सहभागी भएकी हुँ,’ गीताले भनिन्, ‘चुलोचौकामा सीमित रहनु हुँदैन, केही सीप सिक्नुपर्छ भन्ने लागेको थियो, त्यसमा पनि पुर्खौली सीपलाई संरक्षण गर्न हामी अग्रसर भएका हौं ।’

    भुम्लु–६ स्थित कोलातीकी ३० वर्षीया सरिता धौलाकोटी समूहमा साथीहरूसँग सहनाई फुकिरहेकी थिइन् । नौमती बाजामा सबैभन्दा मनपर्ने उनलाई सहनाई नै हो । त्यसकारण पनि उनले सहनाई नै रोजिन् । उनलाई सहनाई फुक्ने रहर अहिले जागेको होइन । अरूले बजाएको देख्दा नै आफूलाई पनि रहर भएको उनले बताइन् ।

    ‘जुन कुरामा आफूलाई इच्छा हुन्छ, त्यो कुरा सिक्न धेरै गाह्रो नहुने रहेछ,’ भनिन्, ‘हेर्दा अलि गाह्रो जस्तो देखिए पनि सिक्दै गएपछि सजिलो हुने रहेछ । आफूले बाजा बजाउन सिकिरहँदा कुनै शुभ कार्यमा गएजस्तो महसुस हुने उनले बताइन् । सिक्दा निकै रमाइलो हुने भएकाले पनि समय बितेको पत्तो नै नहुने उनी बताउँछिन् ।

    सहनाई मात्र होइन, कर्नाल, दमाहा, झ्याली, ट्याम्को, ढोलक सबै पालैपालो उनले सिकिरहेकी छन् । ‘एकथरी सिकेर मात्र पनि हुँदैन, सबै जानियो भने सजिलो हुन्छ,’ उनले भनिन्, ‘सबै जानियो भने, भोलि एउटाले नभ्याएको बेलामा अर्कोले सघाउन पनि सजिलो हुन्छ नि ।’

    आफूले यो सीप सिकेर व्यावसायिक रूपमा काम गर्ने उनले योजना बनाएकी छन् । विवाह, व्रतबन्ध जस्ता शुभ कार्य, उत्सव तथा कार्यक्रमहरूमा आफ्नो नौमती बाजाबाट आफ्नो प्रस्तुति दिने सोच बनाएको उनले बताइन् । स्थानीय सावित्रा धौलाकोटीलाई नयाँ–नयाँ सिक्न मनपर्छ । गाउँमा नौमती बाजा बजाउने सीप प्रदान गर्ने खबर पाएपछि उनले आफ्नो नाम टिपाइन् ।

    ‘केही नयाँ सिकौं भन्ने सधैं लाग्थ्यो,’ उनले भनिन्, ‘यो सीप अलि फरक खालको भएकाले सहभागी भएँ, गीत–संगीत आफ्नो रुचिको क्षेत्र पनि भएकाले सीप सिक्न पनि रमाइलो भइरहेको छ ।’ त्यसमाथि यो सीप महिलाको लागि प्रदान गरेको हुनाले झनै उत्साह थपेको उनले बताइन् । उनका अनुसार, यो सीप सिक्दा आफ्नो कला र संस्कृति पनि संरक्षण हुनुका साथै यही सीपबाट आम्दानीको स्रोत पनि जुटाउन सकिन्छ ।

    स्थानीय ३७ वर्षीया भगवती नेपालीलाई बिहानपखको समय अचेल निकै हतारो पर्छ । यो हतारो उनलाई नौमती बाजा सिक्ने हुटहुटीले बनाएको हो । बिहानको घरधन्दा सबै सकाएर उनी नौमती बाजा बजाउन तालिम स्थल कोलाती पुग्छिन् । ‘आफूले कहिल्यै नगरेको काम सिक्न त सुरु–सुरुमा गाह्रो नै हुने रहेछ,’ उनले भनिन्, ‘बिस्तारै जानिन्छ होला नि, सिक्ने रहर भयो भने त जानिन्छ जस्तो छ ।’

    पछिल्लो समय, नौमती बाजा लोप हुनै लागेको अवस्थालाई मध्यनजर गर्दै समूहमा छलफल गरी वडामा बाजाको सीपका लागि तालिमको माग गरेको उनले बताइन् ।

    ‘सीप सिक्न त पहिलेदेखि नै रहर भएको र तर सिक्नका लागि पनि त स्रोतको आवश्यकता पर्ने रहेछ,’ उनले भनिन्, ‘पालिकाबाट स्रोतको व्यवस्थापन भएपछि सिन्धुली कलाघरसँग समन्वय गरेर, त्यहाँबाट आउनुभएको प्रशिक्षकहरूले सीप सिकाइरहनुभएको छ ।’

    भुम्लु–६ को आयोजनामा मंसिर ११ बाट गाउँपालिकाका १८ जना महिलाले नौमती बजाउन सिकिरहेका छन् । उनीहरूलाई सिन्धुली कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेल, सचिव रीता थिङ र सदस्य रीता विकले नौमतीसम्बन्धी सीप मंसिर ११ देखि १३ दिनसम्म सिकाउनेछन् ।

    ‘यसमा भविष्य राम्रो छ,’ उनले भनिन्, ‘शुभ कार्य, उत्सव तथ कार्यक्रममा दिइने प्रस्तुतिबाट राम्रो आम्दानी हुन्छ, एउटा प्रस्तुतिबाट १ लाखसम्म आम्दानी गर्न सकिन्छ ।’

    यो सीपले महिलालाई आत्मनिर्भर हुनुका साथै नेतृत्व विकास पनि गराउने उनले बताइन् । दोलाखाको जिरी र रामेछापको दोरम्बामा पनि उनीहरूले यस प्रकारको सीप सिकाइसकेका छन् । लोपोन्मुख संस्कृतिका रूपमा नौमती बाजाको संरक्षण गर्न र यसमा महिलाको सहभागिता र नेतृत्व बढाउनका लागि भुम्लु गाउँपालिकाले सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिए ।

    सीप सिक्नका लागि नौमती बाजाका सामग्री गाउँपालिकाले खरिद गरी प्रदान गरेको उनले जानकारी दिए । उनका अनुसार सिकेको सीप प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले कलाघर सञ्चालन गर्ने योजना बनाएको छ ।

     

     

     

    साभार, कान्तिपुर

    Post Views: 193
    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार १२:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.