मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिए । उनले लागुपदार्थ दुव्र्यसनलाई मानसिक स्वाथ्यको रुपमा हेर्ने तथा यसको वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गरिने बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताए । मानसिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान र रिपोर्टिङ गर्दै आएका हिमाल गैरे दुव्र्यसनीलाई व्यवहारजन्य रुपमा हेर्नु भन्दा पनि उपचारमा जोड दिन सकियो भने मानसिक स्वास्थ्यको बढ्दो ग्राफलाई रोक्न सकिने बताउँछन् । उनले त्यसका लागि विद्यामान ऐन, नियम र कानुन संशोधनको आवश्यकता समेत औल्याए ।
भोलिसम्म चल्ने सम्मेलनमा ख्याति प्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्नेछन् । तीन वटा कार्यशालामा पहिलो दिन ३० वटा कार्यपत्र प्रस्तुत गरिएको प्रा.डा बेल्वासेले जानकारी दिए । वुटवल पश्चिम मनोचिकित्सक संघको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले गरेका थिए । उनले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको भन्दै सरकार गम्भीर रहेको बताए । उनले मानसिक स्वास्थ्यका क्षेत्र हेर्ने मन्त्रालयसँग कुनै विभाग नभए पनि डेस्क स्थापना गरिएको उल्लेख गरे । विभागका लागि पहल भइरहेको पनि उनले बताए । सम्मेलनमा संघले प्रदान गर्दै आएको लाइभ टाइम एचिभमेन्ट अवार्ड यो पटक डा.नवराज कोइरालालाई प्रदान गरिएको छ ।
डा.कोइराला विराट मेडिकल कलेजका विभागीय प्रमुख हुन् । यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै टिचिङ हस्पिटलका विभागिय प्रमुख डा.सरोज ओझा र मानव सेवा आश्रम नेपालगन्जलाई पनि सम्मानित गरिएको छ । मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रा.डा रवि शाक्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा दुई सय बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ ।




