बर्दिया, मंसिर १० गते / बर्दियाको गुलरियामा जारी बर्दिया कप क्रिकेट टि२० प्रतियोगिताको आज भएको दोस्रो खेलमा राजापुर नगरपालिकाले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरिया लाई ८५ रनले पराजित गरेको छ।

जिल्ला क्रिकेट सङ्घ बर्दियाद्वारा आयोजित यस प्रतियोगिताको आज तेस्रो दिनको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको राजापुर नगरपालिकाले १८ ओभरमा आठ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। राजापुरका लागि सिद्धान्तराज शाहीले १९ बलमा २८ रन बनाएका थिए भने लवकुश यादवले १२ बलमा २७ रन र अजय साहनीले १५ बलमा २० रन बनाएका थिए। बलिङतर्फ कृष्णसारका अनुज सिंहले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिएका थिए भने निखिल गुप्ताले ४ ओभरमा ३२ रन दिएर दुई विकेटका साथै सुदीप रानाले ३ ओभरमा १८ रन दिएर २ विकेट लिए।
१८ ओभरमा १ सय ३७ रनको लक्ष्य लिएर आएको कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियालाई राजापुर नगरपालिकाका बलर सिद्धान्त राज शाही र अजय शाहानि आकर्षक बलिङले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाका सबै खेलाडी १४.४ ओभरमा ५१ रनमा अल आउट भएका थिए ।
कृष्णसारको तर्फबाट ब्याटिङ गर्दै निखिल गुप्ताले १२ बलमा १० रन मात्र जोड्न सफल भएका थिए भने अन्य ब्याटरहरूले दोहोरो अङ्क समेत जोड्न सकेका थिएनन्।
राजापुर नगरपालिकाबाट किफायती बलिङ गर्दै सिद्धान्तराज शाहीले ३.४ ओभरमा ५ रन दिएर ४ विकेट लिएका थिए भने अजय साहनीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका थिए।
आजको खेलमा ४ विकेट र २८ रन बनाएका राजापुर नगरपालिकाका सिद्धान्तराज शाही म्यान अफ द म्याच घोषित भएका थिए।
भोलि मंसिर ११ गते को पहिलो खेल बिहान ८:३० बजे बर्दिया क्रिकेट एकेडेमी ए र बर्दिया क्रिकेट एकेडेमी बी बीच हुनेछ भने दोस्रो गेम १२:३० बजे कृष्णसार युथ स्पोर्ट्स क्लब गुलिया र जनजागृति युथ क्लब मधुबन बीच हुने जिल्ला क्रिकेट सङ्घ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।




