काठमाडौं, मंसिर १० गते / नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन् ।

क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै अनावरण गरिएको ट्रफीमा सबैभन्दा माथि ढुङ्गा राखिएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार ट्रफीमा राखिएको ढुङ्गा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । क्यानका सचिव पारस खड्काले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
पर्वतारोहीहरु निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै पदाधिकारीहरु, प्रतिस्पर्धी आठै टिमका मार्की खेलाडीसमेत उपस्थित थिए ।
नेपाल प्रिमियर लिग मंसिर १६ गतदेखि शुरु हुँदैछ । मन्तव्यका क्रममा ओलीले सबै टिमको वर्णनसमेत गरेका छन् ।
उनले भने, ‘आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वपूर्ण छ । हाम्रो गौरवशाली धरहराको काखमा, नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी लन्च कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको छ ।’
ओलीले अगाडि भने, ‘विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली किक्रेट इतिहासको विशाल अनि उमङ्गमय पर्व ल्एी ले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्दछ । विश्वभर छरिएर रहेका हाम्रा क्रिकेटप्रेमीहरू मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अँगालेका छन् । क्रिकेट हाम्रो युवा पुस्ताको सपना बनेको छ । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरुकता र अनुशासनको प्रतीक हो ।’
ओलीले अगाडि भने, ‘जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई उपनाम दिनुपर्ला ।’
काठमाडौँ गुर्खाजका कप्तान करण केसीले राजधानीको नाम राख्ने आशा लिएको बताए । उनले भने, ‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर विश्वले नै चिन्न सकेको छैन , यसपालि ९९ मा आउट हुन नपरोस् शतक हान्नू ।’
ओलीले अगाडि भने, ‘चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । आखिर चितवन गैडाजका कप्तान हो नि ! थप चर्चा कमाउनू । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्ने छ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘विराटनगर किङसका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भए । सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ– नेपालीले चान्स पायो भने गर्छ ।’
ओलीले अगाडि भने, ‘कर्णाली याक्स्का सोमपाल कामीका ती योरकरहरूलाई कसले भुल्न सक्छ ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखिने छ । अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा जुट्नु ।’
ओलीले अगाडि भने, ‘कर्णाली याक्सले भारतका गब्बर शिखर धवनलाई अनुबन्ध गरेको सुनेको छु । जो आइपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेछन् । यसरी ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय हो ।’
ओलीले अगाडि भने, ‘अतिममा हिरोको पालो आउँछ, मेरो फेभरेट । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । ऐरीमा यस्ता थुप्रै कीर्तिमान बनून् । सुदुरपश्चिम रोयललाई पनि विशेष शुभकामना छ ।’
ओलीले अगाडि भने, ‘विश्वकपमा २३७ रनको रेकर्ड बनाएका मार्टिन गप्टिल पनि विराटनगर किङ्समा अनुबन्धित भएका र थुप्रै देशबाट खेलाडी आउने जानकारी पाएको छु । ल्एी ले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्छ भन्ने विश्वास लिएको छु ।’
ओलीले अगाडि भने, ‘देशको प्रधानमन्त्री भएकाले सात टीममध्ये कुन टीमको सपोर्ट गर्ने भन्नेमा म दुविधामा छु । मेरो सबैलाई शुभेच्छा छ । आ–आफ्नो टीमको मनोबल बढाउनुस्, ठीक छ । तर यो मेरो टीम भन्दै फ्यानहरूबीच मनमुटाव हुने पो हो कि ! एनपीएल जस्तो प्रतियोगिताले पर्यटन प्रवद्र्धन गर्ने र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउन सहयोग पुग्छ । क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष ल्एी लिग आयोजना गरोस् भन्ने चाहन्छु ।’
साभार हाम्राकुरा




