बर्दिया, मंसिर ३ गते / बर्दिया सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले बर्दियाको राजनीतिक संयन्त्रले जनप्रतिनिधिहरू बीच छलफल चलाउने निर्णय गरेको छ।

आज मंसिर ३ गते बर्दियाको गुलरियामा नेपाली कांग्रेस बर्दिया जिल्ला सभापति अरुणसिंह राठौरको अध्यक्षतामा बसेको दुई राजनीतिक दलको संयन्त्रले विकास र जनजीविकाका सवालमा साझा धारणा बनाउने उद्देश्यले दुई पार्टी कमिटीका प्रमुख र जनप्रतिनिधिहरूबीच छलफल आयोजना गर्ने निर्णय गरेको हो।
छलफलले मुलुकको राजनीतिक परिस्थिति अनुसार गठन भएको संयुक्त सरकारलाई सफल बनाउन जिल्ला र स्थानीय स्तरमा दुई पार्टीबीच नियमित कोडिनेसन मिटिङ सञ्चालन गर्दै विकासका सवालमा साझा धारणा बनाउने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य इन्चार्ज लक्ष्मणराज ज्ञवालीले बताए।
छलफलबाट जनतालाई सुशासनको अनुभूति दिलाउन दुवै दलका नेताहरूले बर्दिया जिल्लास्थित कार्यालयका प्रमुखहरूको ध्यानाकर्षण गराउन पहलकदमी गर्ने निर्णय समेत गरेको छ।
बैठकमा एमाले बर्दिया अध्यक्ष शालिकराम अधिकारी, नेपाली कांग्रेस बर्दिया जिल्ला सचिव जग्गा प्रसाद पाण्डे, एमाले बर्दिया जिल्ला सचिव पदम ढकालको सहभागीता थियो।




