बाँके, कार्तिक ३० गते / प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सव आज सम्पन्न भएको छ । यही २२ गतेबाट सुरु भएको महोत्सव आज सम्पन्न भएको हो । राप्ती तटको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको उद्देश्यसहित सुरु भएको महोत्सबबाट ३ करोड बढी संकलन भएको आयोजक बैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको दिनमा पनि दानताहरुबाट ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भए पनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले आज प्रवचन दिएका थिए । उनले प्रवचनकै क्रममा बैकुण्ठधाम निर्माणका लागि आफूले १ लाख ११ हजार १११ रुपैयाँ दान गर्ने घोषणा पनि गरे । कार्यक्रमको समापनका दिन आज पनि दाताहरुले ठूलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए ।
समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको बताए । उनले स्थानीय सरकारबाट बैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता जनाउँदै यसपछि पनि दाताहरुले धाम निर्माणका लागि दान गर्न सक्ने स्पष्ट पारे ।
सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधा सम्पन्न दाहसंस्कार स्थल (बैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरोन्नति गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाले बताए ।
साभार / बागेश्वरी पोष्ट




