गुलरिया, असार ७ गते / जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । यसै अवसरमा बर्दिया आयुर्वेद अस्पताल केन्द्र गुलरिया द्वारा आज योग शिविरको आयोजना गरि मनाएको छ।


संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले आज विविध कार्यक्रम आयोजना मनाइँदैछ गर्दा गुलरियामा भएको योग शिविरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बर्दिया प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख र बर्दिया आयुर्वेद अस्पताल केन्द्र गुलरियाका प्रमुख डा कलावती विश्वकर्माका साथ पंतन्जली योग समिति महिला समिती लगायत करिब १ सय भन्दा बढीको सहभागी रहेको थियो।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने कुरा डा. कलावती विश्वकर्माले जानकारी दिनुभयो।

यस वर्ष दिवसको नारा “आफु र समाजका लागि योग” भन्ने रहेको छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्ने गरिएको छ । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै शुरु भएको छ । प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।
विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धाता डा. हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको हो ।




