गुलरिया, बैशाख १२ गते / गुलरिया नगरपालिकाको कार्यालयले संस्थागत विद्यालयहरूलाई अनिवार्य उपस्थिति हुने पत्र काटेको छ। गुलरिया नगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८० को संस्थागत विद्यालयहरुले कार्यान्वयन नगरेको जनगुनासोका आएपछि गुलरिया नगरपालिका भित्रका १३ वटा संस्थागत विद्यालयलाई २०८० बैसाख १२ गते पत्र काट्दै बैसाख १३ गते अनिवार्य उपस्थितिका लागि पत्र काटिएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले जानकारी दिए।


गुलरिया नगरपालिकाको नगर छात्रवृत्ति समितिले २०८० चैत्र २३ गते निर्णय गरि पालिका भित्रका १३ वटै संस्थागत विद्यालयलाई कार्यान्वयनका लागि जानकारी गराईसकिएको शाहले बताए ।

संस्थागत विद्यालयले छात्रवृत्ति व्यवस्थापन कार्यान्वयनका लागि जानकारी गराईसकिएको भए पनि कार्यान्वयन नगरिएको जनगुनासो आएकोले पालिका भित्र पर्ने सबै १३ वटै संस्थागत विद्यालयलाई छलफलका लागि अनिवार्य उपस्थिति हुने गरि पत्र काटिएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत शाहले भने ।

कार्यविधि अनुसार सम्पूर्ण संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा ५ सय जना सम्म विद्यार्थी भएका विद्यालयलाई १० प्रतिशत, ५ सय देखि ८ सय विद्यार्थी भएका विद्यालयलाई १२ प्रतिशत र ८ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत कोटा आरक्षण गरी सो विद्यार्थी संख्यालाई १०० प्रतिशत मानि ५५ प्रतिशत खुलातर्फ र ४५ प्रतिशत समावेशी तर्फ कोटा निर्धारण गरी कार्यविधि अनुसार संस्थागत विद्यालयले कार्यान्वयन गरि शिक्षा युवा तथा खेलकुद शाखालाई अनिवार्य रुपमा जानकारी गराउन अनुरोध गरेको थियो।




