बर्दिया, चैत १८ गते / बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयलाई ९ लाख बढीको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको छ । विद्यार्थीको प्रयोगात्मक ज्ञान अभिवृद्धिका लागि आवश्यक पर्ने विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो ।

राजापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक रमेश दहित, वडा नं ८ का अध्यक्ष राजेश थारु र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका सचिव युवराज श्रेष्ठले संयुक्त रुपमा विज्ञान प्रयोगशाला सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुंगाना प्रधानाध्यापक महादेव प्रसाद चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाद्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत ९ लाख ५१ हजार ९ सय २५ रुपैयाँ बराबरको प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको परियोजनाका संयोजक मनोज पौडेलले बताए । उनले प्रयोगशाला सामग्रीले विज्ञानको विषयमा प्रयोगात्मक रुपमा विद्यार्थीलाई अब्बल बनाउने अपेक्षा समेत गरिएको बताए ।
सामग्री हस्तान्तरण गर्दै सामाजिक विकास समिति संयोजक रमेश दहितले राधाकृष्ण थारु, जनसेवा केन्द्रले राजापुर नगरपालिकामा शिक्षा, पोषण, बालविकास लगायतका क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताउँदै नगरपालिकाको समन्वयमा भेरी माविलाई प्रयोगशाला सामग्री प्रदान गरिएको जानकारी गराए । उनले भने, ‘हस्तान्तरण गरिएको प्रयोगशाला सामग्रीले विद्यार्थीहरुको सिकाइ उपलब्धी बढ्ने र प्रयोगात्मक रुपमा विद्याथीहरुलार्ई अब्बल वनाउन सहयोग पुर्याउने छ ।’
राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले राजापुर नगरपालिकामा शिक्षा क्षेत्रलाई मध्यनजर गरी विद्यालयलाई सामग्री सहयोग गर्न पाउँदा आफु हर्षित भएको उल्लेख गर्दै पालिकामा अन्य सहयोगसँगै जन चेतनामुलक कार्यक्रमहरु गर्दै लैजाने बताए ।
विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभइ प्रयोगशालामा प्रयोगात्मक क्रियाकलापका लागि सामग्रीको आवश्यकता पर्ने भएकोले नेतृत्वकारी भूमिका खेलेकोमा राधाकृष्ण थारु जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल र राजापुर नगरपालिकालाई धन्यवाद दिँदै सामग्रीको उचित प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुंगानाले बताए ।
सशक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईदेखि सञ्चालनमा रहेको छ । परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने परियोजना संयोजक मनोज पौडेलले बताए ।




