देउखुरी, (दाङ) फागुन २३ गते / लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले बुधबार अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।


कांग्रेस–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका चौधरीले केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै उनीहरूलाई हटाएका हुन । मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम हटाएको बताए । मन्त्रिपरिषद् विस्तारमा केसी पुस ९ गते मन्त्री बनेकी थिइन् ।
मुख्यमन्त्रीले मन्त्रीहरू बर्खास्त गरेसँगै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारु र दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जनाएका छन् ।




