बर्दिया,माघ २४(माउण्टेनसमाचार)/ ठाकुरबाबा नगरपालिकामा घर र दुर्घटना बिमा गर्ने कार्यको सुरुवात गरिएको छ । उज्यालो नेपालको सहयोगमा घर र दुर्घटना बिमा गर्ने कार्यको सरुवात गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित ठाकुरबाबा नगरपालिका–९ को बन्द्रहवा, खौराहा टोल, बीच टोल र बानुगाउँका वन्यजन्तु र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायका ३ सय घरधुरी र ५ सय ९३ जनाको दुर्घटना बिमा गरिएको छ ।
बन्द्रहवा मध्यवर्ती सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकका प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बिना कुमारी भट्टराईले बीमाको पोलिसी लाभग्राहीलाई हस्तान्तरण गरेका छन् ।

उज्यालो नेपाल बर्दियाको सहयोगमा उक्त गाउँहरुमा करिब चार हजार फलफुलका बिरुवा बृक्षारोपण गर्नुका साथै किसानहरुको रु. एक लाख पचास हजार बरावरको घर बीमा र ब्यक्तिहरुको रु. एक लाख बराबरको दुर्घटना बीमा गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाले महिला, शारीरिक अशक्त तथा गम्भिर रोगबाट पीडितका लागि उपलब्ध गराउँदै आएको सेवाहरु तथा वन्यजन्तुबाट प्रभावित समुदायलाई लक्षित गरी दश महिने कुक तालिम लगायतका आयआर्जन र जीविको पार्जनमा सहयोग पुग्ने तालिम संचालन गरेको जानकारी नगर प्रमुख लम्सालले जानकारी दिए ।
वन्यजन्तु प्रभावित क्षेत्रका सबै घरको बीमा गरिने नगर प्रमुख लम्सालले बताए । ‘ पाइलटिङ्गको लागि शिवपुर हात्तीसार क्षेत्रलाई छनौट गरिएको छ’ नगर प्रमुख लम्सालले भने,‘पशु बीमा गर्ने किसानलाई बीमा शुल्क वापत पाँच प्रतिशत मात्र रकम ब्यहोर्नु पर्ने गरी थप अनुदान प्रदान गरिंदै आएको र कृषि बीमा गर्ने किसानलाई समेत सोही बमोजिम सुबिधा प्रदान गरिनेछ ।’ ठाकुरबाबा नगरपालिकामा कृषि बीमा, पशु बीमा अनिवार्य गर्ने र नगरपालिकाबाट नियमित रुपमा थप अनुदान प्रदान गरिने प्रतिबद्धतासमेत नगर प्रमुख लम्सालले व्यक्त गरेका छन् ।
कार्यक्रम ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, ठाकुरबाबा नगरपालिका– ९ का वडा अध्यक्ष राधा चौधरी, उज्यालो नेपालका अध्यक्ष नमराज न्यौपाने र उज्यालो नेपालका सल्लाहकार रमेश थापा तथा लाभग्रीहरुको उपस्थिति रहेको जनाईएको छ ।




