बाँके, माघ ६/बाँके प्रहरीले अटो रिक्सा र मोबाइल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ का २९ वर्षीय गुड्डु जसगढ अटो रिक्सा चोरी गरेको आरोपमा पक्राउ परेका छन्। नेपालगञ्ज–९ स्थित घरमा पार्किङ गरिराखेको अटो रिक्सा माघ ३ गते राति पौने १२ बजेतिर चोरी गरेको आरोपमा जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

त्यस्तै, नेपालगञ्ज–२२ का २६ वर्षीय हकिकत अली किङ्गरिया मोबाइल चोरी गरेको आरोपमा माघ ४ गते पक्राउ परेका हुन्। नेपालगञ्ज–१२ स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराउन आएका बिरामी तथा उनीहरूका कुरूवाको मोबाइल चोरी गरी भाग्ने क्रममा किङ्गरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डाँगीले बताए।
त्यस्तै, नेपालगञ्ज– १४ का २८ वर्षीय राजु जसगढ पनि अटो रिक्सा चोरी गरी भाग्दै गरेको आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। माघ ४ गते राति नौ बजेतिर नेपालगञ्ज–१० भृकुटीमण्डपमा पार्किङ गरी राखिएको ने १ ह १०३० नम्बरको अटो रिक्सा चोरी गरेको आरोपमा जसगढलाई पक्राउ गरिएको डिएसपी डाँगीले जानकारी दिए।




