बर्दिया,पौष १६ / बाँकेको नेपालगञ्जमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुबै मृतकको सनाखत भएको छ । मृतक पुरूष बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षीय मायाराम चौधरी रहेको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जनाएका छन् ।

सोही दुर्घटनाकी मृतक मध्ये नेपालगञ्ज उपमहानगरपालिका–१३ की २४ वर्षीया आस्था शाहको बिहानै सनाखत भइसकेको थियो । उनीहरू दुबैलाई नेपालगञ्ज मेडिकल कलेजमा पु¥याउन बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यही दुर्घटनामा परी नेपालगञ्ज–१३ की २५ वर्षीया साहाना शाह घाइते भएकी छन् । उनको नेपालगञ्जमै उपचार भइरहेको प्रहरीले बताएको छ ।
चालकले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको डिएसपी डाँगीले बताए । चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘मदिराले मातेका चालकले तीव्र गतिमा हाँकेको स्कार्पियो अनियन्त्रित भई सडकमा हिडिँरहेका पैदल यात्रुलाई ठक्कर दिएको कुरा अनुसन्धानबाट खुलेको छ,’ उनले भने । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा सु–प–प०१००१ च ३४६४ नम्बरको स्कार्पियोले आइतबार राति साढे १२ तीन जनालाई ठक्कर दिएको थियो ।




