मलाई देश देऊ

मलाई राज्य देऊ
अहिले जसलाई
म देश देखिरहेछु
उसले पराइ ठानेको छ मलाई
यो देश जसलाई म धेरै माया गर्छु
म पसिना बगाउन चाहान्छु यसमा
म पौरख पोख्न चाहान्छु यसमा
तर कहिल्यै मेरो पसिनाको सुगन्ध
सुघेन मेरो देशले
म बुलन्द बोल्न चाहन्छु
न्याय र समानताको मधुर स्वर
तर कहिल्यै मेरो शान्त आवाज
सुनेन मेरो देशले
प्रिय कर्णाली !
सधै कलकल बहने
तिम्रो निर्मल जल प्रवाह
हठात कसैले अवरुद्ध गरे
जसरी तिमी
प्रलय प्रवाहमा परिणत हुन्छ्यौ
ठिक त्यसै गरी
यो मेरो देशमा
अवरुद्ध छ जनमत प्रवाह
तसैले जनमनमा भावावेग छ
सडकभरि आक्रोश छ,आवेग छ
प्रिय कर्णाली !
यो मेरो देश
आगोसग खेलिरहेछ
आगो सल्काइ रहेछ
म रोजगार खोजिरहेछु
मेरो देश दिदैन
म बास खोजिरहेछु
गास खोजिरहेछु
थाहा छ ,मेरो देश दिदैन
फेरि पनि बिछट्टै मन पर्छ
मलाई यो मेरो देश
मनभित्र सङ्गालेर यसलाई
वियोगका आसुमा भिजेर
छोडेर मेरो देश
म प्रवास जान चाहान्छु
तर त्यो पनि
सहजै दिदैन मेरो देश
जब हुन्छ अन्यायको पराकाष्ठा
म विद्रोह ओकल्छु सडकभरि
प्रिय कर्णाली
म सुरज राउत बन्छु
वीरेन्द्र शाह बन्छु
मेरो देश बुट बनेर बजारिन्छ
गोलि बनेर पड्किन्छ
कर्णाली !
जब म आत्मीय आलिङ्गन
र न्यायको काख माग्छु
मेरो देश
मेरो लासमाथि
दस लाख ल्याएर आउँछ
गोहीको आसु चुहाउछ
कर्णाली !
म कसरी यसलाई मेरो देश भनू
मलाई मेरो देश देऊ
मलाई मेरो राज्य देऊ।#स्वर्गीय सुरज राउत र वीरेन्द्र शाहप्रति सादर समर्पित ।




