बर्दिया,पौष १४( माउण्टेनसमाचार) / शुक्रबार दिउँसो ललितपुरको बालकुमारी स्थित भएको घटना प्रति नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशले दुःख व्यक्त गरेको छ ।

कोरियाली भाषा परिक्षा (ईपिएस) सम्बन्धि विषयलाई लिएर ललितपुरको बालकुमारी स्थित ईपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु र सोही पश्चात् पदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटना प्रति नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको ध्यानाकर्षण भएको शनिबार विज्ञप्ती जारी गरि जनाईएको हो ।
काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले हस्ताक्षर गरिएको विज्ञप्ती घटनामा मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट र घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गरिएको छ ।
विज्ञप्ती मार्फत घटनाको सत्यतथ्य छानविन गर्नका लागि सरकारले बनाएको छानविन समितीले सत्यतथ्य कुरा पत्ता लगाई दोषीलाई कानुनी कारवाही र प्रदर्शन कारीहरुले उठाएका जायज मागको सम्बोधन गर्नका लागि नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश नेपाल सरकारसंग जोडदार माग गरेको छ ।





