१४ पुस, काठमाडाैं । रोजगारी अनुमति प्रणाली ‘ईपीएस’ को परीक्षा दिन पाउनुपर्ने माग गर्दै शुक्रबार ललितपुरको बालकुमारीमा भएकाे प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइएकाे छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएकाे हाे ।
ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत ‘पीएसओ’बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको बताइएको छ ।
बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।
शुक्रबार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पण्डितको आदेशमा नै आन्दोलनमा गोली चलाइएको थियो। कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली नै चलायो। जहाँ गोली लागेर दुई युवाले ज्यान गुमाएका थिए। मृत्यु हुनेमा दैलेखका सुजन राउत र चौरपाटी–१ सिउडी अछामका वीरेन्द्र शाह रहेका छन्।
शुक्रबार अपराह्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। हवाई फायर गरेको थियो। अनि, गोली चलाएको थियो।
प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काई दिएका थिए। चालकलाई बाहिर निकालेर गाडीमा आगो लगाएका थिए। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी पूर्ण रूपमा ध्वस्त भएको छ।




