काठमाडौँ,पौष १३/ प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले भारतबाट नेपाल भित्रिने विषाक्त एवं अस्वस्थकर खाद्यवस्तुको कडाइ गर्न आग्रह गरेकी छिन् । शुक्रबार सिंहदरबारस्थित समितिको हलमा केरा खेती तथा पशुपालन व्यवसाय तथा यसमा देखिएका समस्यामा केन्द्रीत रहेर गरिएको छलफलमा सभापति राणाले दुई देश बिचको सीमा नाकामा कडाइ गर्न आग्रह गरिन । उनले त्यस्ता खाद्यवस्तु आयात गर्दा ध्यान दिन आग्रह गर्दै आयातमा कडाइ गर्न जोड दिएकी हुन ।

कृषि तथा पशुपक्षी मन्त्रालय, किसानका प्रतिनिधिहरुसहितको बैठकमा बोल्दै सभापति राणाले जाँचपास बिना गरिएको आयातकै कारण नेपाली किसानको केरामा टिआर फोर नामक घातक रोग देखिएको बताइन् । उनले भारतका तरकारी तथा फलफूलमा लाग्ने रोग नेपालमा पनि भित्रिने जोखिम भएकोले त्यसका लागि आयातमा नियन्त्रण गर्नुपर्ने बताइन् ।
सभापति राणाले भनिन्,‘सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्छ । आगामी दिनमा अन्य रोग आउन नदिन के गर्ने ? भारतमा आउने बित्तिकै खुला सिमानाले नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ ।
यसका लागि नेपालको कृषि वैज्ञानिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने आवश्यकता छ । भारतबाट विषाक्त केरा र माछा आउँदा रोग भित्रिरहेको छ, नेपाली किसान मारमा परिरहेका छन् । सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ ।’ सभापति राणाले कृषिमा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउँदै कृषि प्रधान देशमा राज्यको ३ प्रतिशत मात्रै बजेट हुनु दुःखद भएको उल्लेख गरिन । बजेट बढाएर कम्तीमा ५ प्रतिशत पुर्याउन आग्रह गर्दै कृषि सेक्टरबाट धेरै राजस्व उठाउनुपर्ने उनले बताइन् ।
बैठकमा कृषि मन्त्रालयले नेपालमा पहिलो पटक कृषि कानुन बनाउनका लागि ऐनको मस्यौदा तयार पारेको जानकारी दियो । साथै संक्रामक रोगलगायत पशुसम्बन्धी ऐनको मस्यौदा भइरहेको जानकारी गराएको थियो ।साभार रातोपाटी



