काठमाडौं,पौष १३ / जिल्ला प्रहरी परिसर ललितपुरले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ। शुक्रबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाबारे विज्ञप्ति जारी गर्दै आक्रोशित भीडलाई नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको हो।

ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका-१ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका-६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन रावत छन्। एसपी कार्कीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि नै ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागिताको विषयलाई लिएर २५ सयदेखि ३ हजार जना भेला भएका थिए।
‘बिहानै भेला भएपछि प्रहरी कार्यालयमा केन्द्रित भएको थियो। उच्च अदालतमा पनि सुनुवाइ हुँदै थियो। त्यहाँ पनि केही मानिसहरू भेला भएका थिए। हामीले त्यहाँ पनि प्रहरी खटाएका थियौं,’ एसपी कार्कीले कुरा गर्दै भने। त्यसैक्रममा इपिएस कार्यालयबाहिर परीक्षार्थीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि बल प्रयोग गरेको उनले बताए।
प्रहरीमाथि ढुंगामुढा गर्दा डिएसपी उमेश लम्साल, प्रहरी सहायक हवल्दार सुशिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फ पनि चार जना घाइते भएको उनले बताए। प्रहरी घाइते भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको एसपी कार्कीले बताए। ‘कार्यालयबाहिर अश्रु ग्यास प्रहार गरेपछि उनीहरू सडकमा आइपुगेका हुन्। त्यहाँ आक्रोशित भएर निस्किएको भीडले मन्त्रीज्यूको गाडी फेला पारे,’ उनले भने।
भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ढुंगाको ओट लगाएको पाइएको थियो। त्यसपछि हावा फुस्काएर गाडी तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ। विशिष्ट व्यक्तिको सुरक्षा र थप क्षति हुनबाट जोगाउन स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले भीडलाई सम्झाउन समेत खोजेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
सामान्य बल प्रयोग गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले गोली चलाएको एसपी कार्कीले बताएका छन्। ‘प्रहरीले आक्रोशित भीडलाई तोडफोड आगजनी नगर्न सम्झाइबुझाइ गर्दा नमानेकोले सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआइ टियर ग्यास, रबर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेबार बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको हो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो। उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सोही स्थानमा भागदौडको क्रममा सुजन घाइते भएको प्रहरीले जनाएको छ। उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस घटनापछि प्रहरीले अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।




