बुटवल,मंसिर २९/ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति तथा कानुन र योजना निर्माणमा गर्नुपर्ने बताएका छन् । युवाको पक्षमा कानुन बनाउन संसद् प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अहिले युवाहरुमा देखिएका निराशा अन्त्य गर्नुपर्नेमा जोड दिए ।

नेपाल जेसिसको ५०औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिसका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे । उनले जेसिसको मूल्य मान्यता परिपालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
घिमिरेले जेसिसमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघसंस्था र राजनीतिमा पनि अनुकरणीय रहेको बताए । १८ वर्षदेखि ४० वर्ष उमेर हद लागू गरिनु आफैँमा राम्रो पक्ष भएको भन्दै उनले नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेपछि पनि युवा नेताहरुले जेसिसबाट पाठ सिक्नुपर्ने बताए ।
घिमिरेले पछिल्लो समयमा युवाहरुको राजनीतिप्रति आकर्षण बढ्दै गएको भन्दै राजनीतिमा लाग्नको लागि पनि जोड दिए । उच्च शिक्षा, रोजगारको लागि युवा बिदेसिने परिपाटी रहेको भन्दै उनले यसलाई रोक्न पर्ने बताए । नेपाल जेसिसका पूर्वअध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिसको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए ।
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिसको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताए । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिविक्रम कुवर, गोपाल अधिकारी, कल्पना कुसुम लगायतले आफ्नो धारणा राखेका थिए । साभार रातोपाटी




