राम बहादुर थारु

बर्दिया, मंसिर २९/राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) द्वारा संचालित प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को समन्वयमा बालिका सशक्त परियोजना अन्र्तगत समुदायमा बालविवाह सम्बन्धि जनचेतना मुलक सडक नाटक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका संग समन्वय गरी सबैभन्दा बढी बालविवाह हुने गाउँ छनोट गरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावारमा सडक नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) की फिल्ड सुपरभाइजर उमा पौडेलले जानकारी दिनुभयो ।
सडक नाटकमा कसरी बालबिवाह गर्दा स्कुल जानबाट बन्चित हुनु पर्ने, घरझगडा बढ्ने, सानै उमेरमा गर्भधारण भइ बच्चा जन्माउँदा ज्यान समेत जाने लगायतका दृश्यहरु देखाइएको थियो । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सडक नाटक प्रदशनी गरिएको थियो ।
उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर पर्ने सन्देश दिइएको थियो ।
बालबिवाह, लागु पदार्थ द्रुब्यवसनी, लैंगिक हिंसा बढिरहेको अवस्थामा यसलाइ न्युनिकरण गर्न र कोही यस्ता काममा नफसोस भन्ने नाटकको उदेश्य रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर उमा पौडेलले बताउनुभयो ।




